काठमाडौं, २४ वैशाख । रामेछापको सानो शैलुङ मन्दिर क्षेत्रमा रहेको शैलुङ जंगलमा डढेलो लागेको सातौं दिन बित्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन । घना जंगल भएको यसमा क्षेत्रमा गत मंगलबार जंगलको दक्षिण फेदीस्थित दोरम्बा शैलुङ गाउँपालिका–७ को डोरखानीबाट सल्किएको डढेलो पूर्वी क्षेत्रबाट सालमी–बर्षौंनी र उत्तर–पश्चिम लोङा–दोङगती क्षेत्र हुँदै घना जंगलमा फैलिएको छ । बस्तीको जोखिम टरेपनि आगो अहिले घना क्षेत्रमा नियन्त्रण भइनसकेको वडा नं. ७ का वडाध्यक्ष प्रविणकुमार मोक्तानले सोमबार जानकारी दिए ।
छेउछाउका आगो निभाउन सफल भएपनि ज्यान सुरक्षाका कारण घना क्षेत्रमा प्रवेश गर्न नसकिएको उनले बताए । आगोका अवस्थाबारे भने निगरानी जारी रहेको उनले बताए ।
उत वन डिभिजन कार्यालय रामेछापले जंगलमा आगलागी अहिले घना क्षेत्रमा भइरहेको र नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको जनाएको छ । मिर्मिरे अनलाइनसँगको कुराकानीमा कार्यालयका एक अधिकारीले आगलागी भइरहेको क्षेत्र राष्ट्रिय वन क्षेत्र भएको र कुना क्षेत्रमा स्थानीय आगो नियन्त्रणमा लिएपनि मध्यभागमा जारी रहेको बताए ।
वर्षाबाट मात्र आगो नियन्त्रणमा आउन सक्ने भएकाले बस्ती जोगाउने र मानवीय क्षति हुन नदिने तर्फ मात्र ध्यान दिइरहेको अधिकारी सागर भण्डारीले बताए । वरपर विभिन्न सामूूदायिक वन रहेपनि बाँकी ठूलो क्षेत्र करिब ३ हजार हेक्टर क्षेत्र राष्ट्रिय वन भएको उनले बताए । स्रोतसाधनकै अभावले आगो नियन्त्रण लिन नसकिएको उनको भनाइ छ । आगलागी भएको सातौं दिन भइसक्दा पनि वनका तर्फबाट कोही पनि घटनास्थलमा पुगेका छैनन् । अहिले आगो सानो शैलुङ मन्दिर नजिक पुगसिकेको र मन्दिर जोखिम नजिक रहेको स्थानीयले बताएका छन् । हावा चल्दा आगो वेगमा फैलिन गरिएको उनीहरुले बताएका छन् । आकाशबाट पानी वर्षाएमा मात्र आगो पूर्णरुपमा नियन्त्रणमा आउने र नत्र जंगल पूरै सकिने र त्यसनिम्ति अर्को एक डेढ हप्ता लाग्ने उनीहरुको भनाइ छ ।
उता पालिका अध्यक्ष मैनकुमार मोक्तानले डढेलो निभाउन आकाशे पानी कुर्नुको विकल्प नभएको बताइसकेका छन् । आगो निभाउन सकिने संभावना नदेखिएको जनाउँदै नेपाली सेनाको टोली समेत फिर्ता भइसकेको छ ।
बेलाबेलामा आगोका मुश्लो र धुँवा निकै उचाइमा पुगेका कारण जंगल माथिको रुट भएर उड्ने काठमाडौं–लुक्ला उडानमा प्रभावित भएको बताइन्छ ।
ढडेलोले पाइप जलेपछि खानेपानीको हाकाहार
डढेलोबाट लोङा, काफलडाँडा, डोरखानी, डाँडागाउँ, घट्टेखोला लगायत बस्तीमा लैजाने खानेपानीको पाइप जलेका कारण अहिले बस्तीमा खानेपानीको हाहाकार चलेको छ । लोङका १० घरले अहिले १२ सय मिटरको दूरी ओख्रेनी गहिराबाट बोकेर खानेपानी टारिरहेको स्थानीय चन्द्रबहादुर मोक्तानले बताए । डोरखानीका करिब ४० घरधुरीका मानिस एउटै पँधेरोमा खानेपानीका लागि घुइँचो लाग्दै आइरहेका छन् । वैकल्पिक व्यवस्थाबाट छिट्टै खानेपानी व्यवस्था गर्नेतर्फ आफू लागिरहेको मोक्तानले बताए ।
आगलागी घटनामा अहिलेसम्म कोही पक्राउ परेका छैनन् । दोषी पहिचान भइसक्दा पनि राज्यले पक्राउ नगरेको भन्दै स्थानीय आक्रोशित बनेबा छन् ।
शैलुङ जंगल : पाँचौं दिन पनि जलिरहेछ
गाउँपालिका अध्यक्ष मोक्तान भन्छन्ः शैलुङ जंगलको आगो निभाउन आकाशे पानी कुर्नुको विकल्प छैन
शैलुङ जंगलको डढेलो भयावह अवस्थामा, सानो शैलुङ मन्दिर जोखिममा
शैलुङ जंगलको डढेलो नियन्त्रणबाहिर, सेनाको टोली समेत फिर्ता
अपडेटः शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर जाँदै
दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जंगलमा भिषण आगलागी