काठमाडौं, १९ वैशाख । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नंं ७ स्थित शैलुङ जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ । मंगलबार दिउँसो करिब ३ बजेतिर वडा ७ को डोरखानीबाट सुरु भएको डढेलो २४ घण्टा बित्दा भीषण रुप लिन पुगेको छ । आज बिहानदेखि नेपाली सेनाको दोरम्बा ब्यारेकबाट पुगेको टोली समेत आगो नियन्त्रणमा लिन संभव नदेखिएको जनाउँदै फिर्ता भएको छ ।
पालिकाको गाडी चढेर १६ जनाको संख्यामा पुगेको टोलीले वडा नं. ७ को घोरलाङ, लोङा, देउराली र बतासे डाँडामा फैलिएको आगो निभाउने कोशिस गरेको थियो । तर बिना उपकरण पुगेको टोली डढेलो लागिरहेको स्थानसम्म पुगेर निरीक्षण गरेको र सामान्य प्रयासबाट डढेलो रोकिन नदेखिएपछि फिर्ता भइसकेको टोलीसँगै खटिएका एक स्थानीयले मिर्मिरे अनलाइनलाई बताए ।
जंगलको फेदीमा पर्ने डोरखानीबाट फेलिएको आगो अहिले सालमी, घोरलाङ र दोङगती क्षेत्रमा व्यापक फैलिएको स्थानीय नरबहादुर तामाङले बताए । झिरिङ्गे भीरबाट घना जंगल दोङगतीमा क्षेत्रमा पुगिसकेको आगो फैलिने क्रममा रहेको र लोङा क्षेत्रमा फैलिएको आगोले बुल्कु हुँदै खालडाँडाको क्षेत्रमा पुगेर दोङगती क्षेत्रकै लप्कासँग मिसिने खतरा रहेको बताएका छन् । सालमीबाट फेलिएको आगोले चिलाउने बथानस्थित दर्जनभन्दा बढी संख्यामा रहेको बस्ती जोखिममा रहेको वडा नंं. ७ का अध्यक्ष प्रविणकुमार मोक्तानले बताए ।
उनका अनुसार सरकारी संयन्त्रको ठोस सक्रियता नरहेको र आगो नियन्त्रण लिने सामाग्रीको अभावमा डढेलो नियन्त्रणमा आउन नसकेको बताए । बुधबार बिहानैदेखि स्थानीयले आफ्नै बलबुतामा निभाउने प्रयास जारी राखेको तर चर्को घाम र दिउँसो तीव्र गतिमा चल्ने हावाहुरीका कारण डढेलो थप फैलिन पुगेको उनले बताए । उनले डढेलो नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी हालेर निभाउने उपाय मात्र एक विकल्प भएको तर त्यसबारे सरकारी निकायले पहलकदमी नलिएको उनले बताए ।
बिहानको समयमा आगो नियन्त्रणमा लिने काममा सहयोग पुर्याइरहेको र सोही कारण डोरखानी क्षेत्रमा नियन्त्रणमा आइसकेको उनले बताए । लोङ क्षेत्रमा फैलिएको आगो नियन्त्रमा लिन स्थानीय जुटिरहेको र यसबाट उच्च जोखिममा रहेका लोङाका ३ घर बचाउन कोशिस भइरहेको उनले बताए । त्यहाँ कु्मार, पासाङ तामाङ लगायतका घर जोखिममा रहेको बताए ।
आज दिउँसो डोरखानीस्थित सुर्केमा स्थानीयकै सक्रियताले २ घर जल्नबाट जोगाएको स्थानीय चन्द्र मोक्तानले बताए । डढेलोबाट अहिलेसम्म मानवीय र चौपायातर्फ कुनै क्षति हुन नपएको उनले बताए ।