रामेछाप, १८ वैशाख । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–७ मा पर्ने शैलुङ जंगलमा लागेको आगो अनियन्त्रित बन्दै गएको छ । दिउँसो करिब ३ बजेबाट सुरु भएको आगलागी नियन्त्रण बाहिर जान थालेको वडा नं. ७ का वडा अध्यक्ष प्रविणकुमार मोक्तानले बताए ।
आगो बस्ति पस्ने सम्भावना बढेपछि बस्ती जोगाउन स्थानीय सेउला राखेर बसेका छन् । वडाध्यक्ष मोक्तानका अनुसार डोरखानीस्थित ठूलो ढुंगानेर २ घर जल्न सक्ने खतरा बढेपछि स्थानीयलाई सुरक्षित तवरले आगो नियन्त्रणका लागि परिचालन गरिएको छ। घना जंगलमा भिषण रुपमा आगो फैलिएकाले जुनसुकै बेला बस्ती जोखिममा पर्न सक्ने उनले बताए । तर आगो नियन्त्रणका लागि सेउलाको मात्रै भर रहेको उनले बताए ।
आगलागीका कारण बस्तीमा आउने खानेपानीको पाईप पनि जलेको छ । मिमिरे अनलाईनसँग कुरा गर्दै वडाध्यक्ष मोक्तानले भने, करिब ४ किलोमिटर टाढाबाट पाइपमार्फत खानेपानी गाउँमा ल्याइएको थियो तर आगोले पाईप जलेपछि पानी आउन अवरुद्ध भएको छ ।
रात परेको हुनाले सरकारी निकायबाट नियन्त्रणको पहल हुन नसकेको उनले बताए । घटनास्थलबाट नजिकमा रहेको भनिएको नेपाली सेनाको क्याम्प पनि १५ किलोमिटरको दुरीमा रहेको छ । सेनाको टोली ब्यारेकबाट हिडेको जानकारी आएपनि अहिलेसम्म उक्त स्थानमा आइपुगिनसकेको उनले बताए ।
उनले भने, आगलागी फैलिएर नाजुक अवस्था भरहेको छ, दमकल गाउँमा आउने ठाँउ छैन । घना जंगल भएकोले आकाशबाट हेलिकप्टरले पानी खन्याएर नियन्त्रण गर्ने मात्रै एक विकल्प छ । त्यसो गर्दा पनि आगो नियन्त्रण गर्न एक महिना लाग्न सक्छ ।
गाउँलाई स्थानीयले अहिले सेउला राखेर घेरेर बसेको पनि बताए । रातैभर आफुहरु सक्रिय रहने र भोलि बिहान उज्यालो हुने भएदेखिनै सुरक्षा निकाय समेतको पहलमा आगो नियन्त्रणमा लिने कोशिस हुने उनले बताए । आगो फैलिन सक्ने स्थान बतासे डाँडामा वडा सदस्य चन्द्र मोक्तानको नेतृत्वमा एक टोली परिचालन गरिएको उनले बताए । घना जंगलमा आगो प्रवेश भएका कारण स्थलबाट निभाउन कठिन उनले बताए ।
मंगलबार अपरान्ह ३ बजेबाट वडा नम्बर ७ को डोरखानीबाट आगो फैलिएको हो । मोक्तानका अनुसार बारीको भित्तामा ६० वर्षीया महिलाले सोत्तर जलाउने क्रममा जंगलमा आगो फैलिएको बताए ।