झापामा बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु

झापामा बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु

  • मङ्लबार, अशोज २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

झापा ।   बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापामा स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरिएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, झापाले आजदेखि प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने कार्यक्रम सञ्चालनमा ल्याएको हो। कार्यक्रमको शुभारम्भ जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले गरेका हुन्।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा. विजय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको थियो। केन्द्रका अनुसार पहिलो चरणको कार्यक्रमबाट ५०० भन्दा बढी बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ।

स्वर्णविन्दु प्राशनका लागि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरिएको छ। कार्यक्रमअन्तर्गत बालबालिकाको स्वास्थ्य अवस्था, उमेर तथा आवश्यक विवरण अभिलेख राखेर स्वर्णविन्दु प्राशन गराउने व्यवस्था गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका  वरिष्ठ बैद्य खगेन्द्र भट्टराईले जानकारी दिए ।

के हो स्वर्णविन्दु ?

आयुर्वेदमा स्वर्णविन्दुलाई बाल स्वास्थ्य प्रवर्द्धनसँग जोडिएको महत्वपूर्ण उपचार पद्धतिका रूपमा उल्लेख गरिएको छ। तोकिएको मात्रामा स्वर्ण भस्म, मह र ब्राह्मी घृतलाई विधिपूर्वक मिसाएर तयार गरिएको अर्धतरल मिश्रणलाई स्वर्णविन्दु भनिन्छ।

आयुर्वेदको बालरोगसम्बन्धी मूल ग्रन्थ काश्यप संहिताको लेह अध्यायमा समेत स्वर्णविन्दु प्राशनको वर्णन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको पोषणमा सहयोग गर्नुका साथै पाचन प्रणाली सुदृढ बनाउन, स्मरण शक्ति तथा बौद्धिक क्षमताको विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने मान्यता छ। यसबाट बालबालिकाको शारीरिक तथा मानसिक विकासमा समेत सहयोग पुग्ने बताइएको छ।

कार्यक्रम सञ्चालनका लागि केन्द्रले बालबालिकाको उमेर, जन्ममिति, ठेगाना, अभिभावकको नाम र सम्पर्क नम्बरलगायत विवरण समेटिएको स्वर्णविन्दु प्राशन कार्डको व्यवस्था गरेको छ।

बिरामी अवस्थामा प्राशन नगर्न आग्रह

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी तथा आकस्मिक स्वास्थ्य अवस्था भएका बालबालिकालाई स्वर्णविन्दु प्राशन नगराउन आग्रह गरेको छ।

स्वर्णविन्दु प्राशन गराएपछि कम्तीमा आधा घण्टासम्म बालबालिकालाई केही पनि खान नदिनसमेत केन्द्रले सुझाव दिएको छ। कुनै असहजता वा दुष्प्रभाव देखिएमा तत्काल चिकित्सकसँग परामर्श लिन आग्रह गरिएको छ।

केन्द्रले स्वर्णविन्दु प्राशनलाई बालबालिकाको नियमित खोपको विकल्पका रूपमा नलिनसमेत स्पष्ट पारेको छ। बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमअनुसार नियमित खोप लगाउन छुटाउन नहुने उसको भनाइ छ।

स्वर्णविन्दुसँगै बालबालिकालाई सन्तुलित आहार खुवाउने, मोबाइल तथा टेलिभिजनमा लामो समय बिताउने बानीबाट टाढा राख्ने र खेलकुद तथा शारीरिक गतिविधिमा सक्रिय बनाउनेतर्फ अभिभावकले ध्यान दिनुपर्ने स्वास्थ्य केन्द्रले जनाएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा सञ्चालन हुने कार्यक्रममा बालबालिकालाई नियमित रूपमा सहभागी गराउने लक्ष्य राखिएको छ। कार्यक्रम सञ्चालनको जिम्मेवारी खगेन्द्र महराईले सम्हालेका छन्।

स्वास्थ्य केन्द्रका अनुसार कार्यक्रमको उद्देश्य औषधि सेवनमा मात्र सीमित नराखी बालबालिकाको समग्र स्वास्थ्य र स्वस्थ जीवनशैलीप्रति अभिभावकलाई सचेत गराउनु पनि हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ