कविता
वयान गरी साध्य छैन
जीवनका अलिखित इतिहासहरु
आमाका भोकका कथाहरु
बाबुका शोकका कथाहरु
समयको उछाल सँगै
बगाइएका पसिनाका कथाहरु
बाँच्नै नपाई मर्न बिवश जिन्दगीका कथाहरु
दास जस्तै बाँचिरहेका अवोध मान्छेका कथाहरु
इतिहासमा कहीं कतै उल्लेख गरिएन
देश बनाउने हातका कथाहरु ।
टिकुली प्रसव पीडाले छटपटिएर मरी
टुल्के हैजाले सताएर म¥यो
नवजात शिशुको रोदनमा
घलेगाउँमा सन्नाटा छायो
मातृ वात्सल्य थाहै नपाई
नवजात शिशुको चोला उठेर गयो
र पनि लेखिएन सरकारी श्रेष्तामा
सुत्केरीको पीडा
हैजाको महामारी
र नवजात शिशुको अकाल मृत्यु ।
श्रमिकको गीत लेखिएन
लेखियो मालिकको मात्रै कथा
हुँदा खानेको लेखिएन व्यथा
हुने खानेको मात्रै लेखियो कथा
इतिहासले बदनामहरुको छलछाम लेख्यो
लेखेन सज्जनहरुको साहसिक कथा ।
राष्ट्रघातीहरुको पढाइयो इतिहास
पढाइएन देशप्रेमीहरुको राष्ट्रियताको कथा
गाइयो भ्रष्टहरुको जय गान
गाइएन सदाचारीहरुको निष्ठा गान
देशको सीमा रेखा पोतिएको बखत
देशको सीमा सुरक्षार्थ लड्ने नौजवानहरुको लेखिएन कथा ।
भो म पढाउँदिन एकलकाँटे इतिहास
भो म लेख्दिनँ सम्भ्रान्तहरुको कथा
हटाउनोस प्रधानाध्यापक ज्यू Û
बिद्यालयहरुमा इतिहासको पाठ्यक्रम
र राख्नोस वीरहरुको जीवन गाथाको पाठ्यक्रम
अनि पढाउनोस लखन थापाहरुको इतिहास ।
जङ्गे मरि सक्यो
अझै पढाइन्छ उसको इतिहास
सँग सँगै मर्ने मुसे सार्कीको किन पढाइदैन इतिहास ?
पृथ्वीनारायण कसरी हुन सक्थे राष्ट्र निर्माता ?
बिसे नगर्चीको नपढाइ इतिहास
नियमापत्ति छ मेरो श्रीमान Û
नपढाइयोस कालो इतिहास
नगाइयोस गद्धारहरुको गीत ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५