राजमार्गका होटलमा अझै सुधार भएन गुणस्तर: धादिङका १७ होटलमध्ये १४ वटामा ‘पहेंलो स्टिकर’, दुई वटा मात्रै ‘उत्तम’

राजमार्गका होटलमा अझै सुधार भएन गुणस्तर: धादिङका १७ होटलमध्ये १४ वटामा ‘पहेंलो स्टिकर’, दुई वटा मात्रै ‘उत्तम’

  • बुधबार, अशोज २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

काठमाडौँ, २८ असोज । काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य राजमार्ग मानिने पृथ्वी राजमार्गका होटल तथा रेस्टुरेन्टहरूमा यात्रुहरूले अझै पनि गुणस्तरीय खाना र सफा वातावरण पाउन सकेका छैनन्। सर्वसाधारण यात्रुबाट बासी खाना, अस्वस्थकर वातावरण र चर्को मूल्य असुलीबारे व्यापक जनगुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनले यस्तो तथ्य उजागर गरेको हो। विभागले जारी गरेको प्रेस नोट अनुसार, धादिङ जिल्लाका थाक्रे, धुनिबेँसी र गल्छी गाउँपालिका क्षेत्रमा सञ्चालित १७ वटा राजमार्ग होटल तथा रेस्टुरेन्टहरूको अनुगमन गरी स्तरीकरण (लोगो/स्टिकर वितरण) गरिएको थियो।
राजमार्गमा चल्ने सार्वजनिक यातायातका सवारी साधनहरूले यात्रुलाई खाना र नास्ता खुवाउन रोक्ने होटलहरूमा सरसफाइको चरम कमी, बासी तथा झिँगा भन्किएको खाना बिक्री, न्यून गुणस्तरको खाना र अत्यधिक मूल्य असुली जस्ता समस्या रहेको भन्दै सर्वसाधारणबाट निरन्तर गुनासो आउने गरेको थियो। यस विषयमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरोकारवाला निकायहरूबिच छलफल भएपछि यातायात व्यवस्था विभागले २०८३ असोज २७ गते विशेष सूचना जारी गरेको थियो। सोही सूचनाको प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निरीक्षण टोलीले धादिङका राजमार्ग क्षेत्रका होटलहरूमा आकस्मिक अनुगमन र स्तरीकरण सुरु गरेको हो।

अधिकांश होटल ‘सामान्य’ अर्थात् कमजोर स्थितिमा

निरीक्षण टोलीले होटलको भौतिक पूर्वाधार, भान्साको सरसफाइ, कच्चा पदार्थको गुणस्तर, व्यक्तिगत सरसफाइ र मूल्य सूचीका आधारमा चार वर्गमा विभाजन गरी लोगो/स्टिकर वितरण गरेको छ । अनुगमन गरिएका कुल १७ वटा होटेलमध्ये १४ वटा होटेल सामान्य श्रेणी (पहेंलो स्टिकर ‘D’) मा परेका छन्, जसले राजमार्गका होटेलमा खाद्य स्वच्छताको अवस्था अझै चिन्ताजनक रहेको देखाउँछ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार गल्छी गाउँपालिका–४ स्थित ट्रिपल क्राउन रिसोर्ट प्रा.लि. र धुनिबेँसी–१ स्थित ट्रान्जिट हाउस रेस्टुरेन्ट प्रा.लि. ले मात्र ‘उत्तम’ श्रेणी (दुई तारासहितको हरियो स्टिकर ‘B’) प्राप्त गरेका छन्। त्यस्तै, थार्के–०२ मा रहेको न्यू काठमाडौँ होटेलले ‘सन्तोषजनक’ श्रेणी (एक तारासहितको हरियो स्टिकर ‘C’) पाएको छ।

बाँकी १४ वटा होटेल तथा रेस्टुरेन्टहरू सामान्य स्तरका मात्र पाइएकाले तिनलाई पहेंलो स्टिकर (D श्रेणी) दिइएको छ। पहेंलो स्टिकर पाउनेमा थार्के क्षेत्रका होटेल न्यू नमस्ते नेपाल एण्ड कोल्ड स्टोर, कान्तिपुर होटेल एण्ड सज, दिवा.सी कोल्ड स्टोर, रिया होटेल, न्यू सुपा देउराली होटेल, श्री अन्नपूर्ण होटेल, होटेल सयपत्री र न्यू पाथीभरा होटेल रहेका छन्। त्यसैगरी धुनिबेँसी क्षेत्रका थकाली भान्छा घर, हाइवे ब्रेक पोइन्ट कोल्ड स्टोर, हाइवे किङ फास्टफुड एण्ड रेस्टुरेन्ट, न्यू आँधी खोला होटेल र न्यू पाण्डे खाजा घर एण्ड सज तथा गल्छी क्षेत्रको जुनतारा रेस्टुरेन्ट एण्ड सजलाई पनि पहेंलो स्टिकर थमाइएको छ।

स्टिकर र रङको अर्थ: यात्रुले कसरी चिन्ने ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार यात्रुहरूले होटल बाहिर टाँसिएको स्टिकर हेरेरै खानेकुराको स्तर थाहा पाउन सक्छन्:

३ तारासहितको हरियो स्टिकर (A): अति उत्तम (Very Good)

२ तारासहितको हरियो स्टिकर (B): उत्तम (Good)

१ तारासहितको हरियो स्टिकर (C): सन्तोषजनक (Satisfactory)

पहेंलो स्टिकर (D): सामान्य / सुधार गर्नुपर्ने (Average)

सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सर्वसाधारण यात्रुहरूलाई सरसफाइहीन वातावरणमा बासी र झिँगा भन्किएको खाना खुवाउने तथा चर्को मूल्य असुल्ने प्रवृत्ति नियन्त्रण गर्न विभागले अनुगमनलाई थप तीव्र बनाउने जनाएको छ। मापदण्ड पालना नगर्ने र सुधार नगर्ने होटेलहरूमाथि कानुनी कारबाही अगाडि बढाउने चेतावनी समेत टोलीले दिएको छ।

चाडबाडको मुखमा ८० प्रतिशतभन्दा बढी होटेल ‘सामान्य’ श्रेणीमा पर्नुले राजमार्गको खाना अझै पनि यात्रुको स्वास्थ्यका लागि पूर्ण सुरक्षित नरहेको पुष्टि गर्छ। विभागले पहेंलो स्टिकर पाउने होटेलहरूलाई तत्काल सरसफाइ र गुणस्तरमा सुधार गर्न कडा निर्देशन दिएको छ। चाडबाडभरि अनुगमनलाई निरन्तरता दिइने र पुनः अनुगमन गर्दा तोकिएको मापदण्ड पालना नगरेको पाइएमा खाद्य ऐन अनुसार कडा कानुनी कारबाही र पसल सिल गर्नेसम्मको चेतावनी विभागको छ।

दैनिक हजारौँ यात्रु आउजाउ गर्ने मुख्य राजमार्गका ८० प्रतिशतभन्दा बढी होटेल तथा रेस्टुरेन्टहरू सामान्य (पहेंलो स्टिकर) श्रेणीमा पर्नुले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको पुष्टि गर्छ। केवल अनुगमन गरेर स्टिकर टाँस्ने काममा मात्र सीमित नभई, ‘D’ श्रेणीमा परेका होटेलहरूलाई तोकिएको समयभित्र पूर्वाधार र सरसफाइमा सुधार गर्न बाध्य पार्नुपर्ने देखिन्छ। सुधार नगर्ने र यात्रुलाई अस्वस्थकर खाना खुवाउने होटेलहरूमाथि कडा कानुनी कारबाही नगरिएसम्म राजमार्गको खानाको गुणस्तर सुध्रिने सम्भावना न्यून छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ