उदयपुर सिमेन्ट उद्योगको ‘पुनरुत्थान र दिगोपना’ विषयमा गोपीकृष्ण न्यौपानेद्वारा विद्यावारिधि, उद्योग सुधार्ने तयार पारे मार्गचित्र

उदयपुर सिमेन्ट उद्योगको ‘पुनरुत्थान र दिगोपना’ विषयमा गोपीकृष्ण न्यौपानेद्वारा विद्यावारिधि, उद्योग सुधार्ने तयार पारे मार्गचित्र

  • शनिबार, अशोज १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौँ: सरकारी स्वामित्वको प्रतिष्ठित उदयपुर सिमेन्ट उद्योगका पूर्वमहाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालन चुनौती र दिगोपनाको विश्लेषणात्मक विषयमा विद्यावारिधि (PhD) उपाधि हासिल गर्नुभएको छ। सिक्किम प्रोफेसनल युनिभर्सिटीबाट एसोसिएट प्रोफेसर डा. नसिरुद्दीन मोल्लाको निर्देशनमा सन् २०२० देखि निरन्तर अनुसन्धानरत उहाँले “उदयपुर सिमेन्ट उद्योगको सञ्चालन चुनौतीहरू र दिगोपनाको विश्लेषण” विषयमा विद्यावारिधि पूरा गर्नुभएको हो।

संकटबाट मुनाफासम्मको अढाइ वर्षे कार्यकाल
२०७७ साल माघ १ गते न्यौपानेले महाप्रबन्धक पद सम्हाल्दा उद्योगको आर्थिक अवस्था अत्यन्तै नाजुक थियो। कोइला लगायतका कच्चा पदार्थको चरम अभाव र संस्थागत सुशासनको कमीले उद्योग थलिएको थियो। करीब २४ वर्ष निजी क्षेत्र, १० वर्ष बैंक सञ्चालक तथा विभिन्न संघ-संस्थामा काम गरेको अनुभव एवं MBA र LLM सम्मको अध्ययनलाई उपयोग गर्दै उहाँले उद्योग सुधारको प्रयास सुरु गर्नुभएको थियो।

उहाँको नेतृत्वमा आर्थिक वर्ष २०७८/७९ मा उद्योगले २२ लाख बोरा सिमेन्ट बिक्री गर्दै मुनाफा कमाउन सफल भएको थियो। आफ्नो अढाइ वर्षे कार्यकालमा उहाँले खानीदेखि प्याकिङ सेक्सनसम्मको सूक्ष्म अध्ययन गरी सरकारसमक्ष ५६ करोड ७५ लाख रुपैयाँ थप ऋण लगानीको योजना पेस गर्नुभएको थियो।

साथै, कम्पनी कानुन बमोजिम २०४४ देखि २०७८ सालसम्मको विवरण अद्यावधिक गर्ने, १५ वर्षदेखि रोकिएको साधारण सभा सम्पन्न गर्ने, अनावश्यक विद्युत खर्च कटौती गर्ने, र भौतिक संरचना पुनर्निर्माण गर्ने काम उहाँको कार्यकालमा भएका थिए। सुशासन कायम गर्दै चन्दा, उपहार, पाहुना, मिडिया, अनावश्यक ओभरटाइम (OT) र काज खर्च कटौती गरी २०७८ असोजसम्म अवकाश पाएका कर्मचारीलाई १६ करोड रुपैयाँ भुक्तानी तथा सरकारी राजस्व समयमै बुझाइएको थियो।

तर, उत्पादन क्षमता दैनिक १६ हजार बोराबाट २२ हजार पुर्‍याउने र ३ वर्षभित्र सरकारी ऋण फिर्ता गर्ने योजना स्वीकृत भए पनि मन्त्रालय र सञ्चालक समितिबाट आवश्यक सहयोग नपाएपछि उहाँले ६ महिनाअघि राजीनामा दिनुभएको थियो। उहाँको बहिर्गमनपछि हाल उद्योग सञ्चालन हुन नसक्दा झण्डै ३ अर्ब रुपैयाँको दायित्व सिर्जना भएको छ भने कर्मचारीहरू १८ महिनादेखि तलबको पर्खाइमा छन्।

अनुसन्धानको निष्कर्ष र भावी मार्गचित्र
महाप्रबन्धकका रूपमा काम गर्दाको प्रत्यक्ष अनुभवलाई अनुसन्धानसँग जोड्दै डा. न्यौपानेले उद्योगलाई पुनः नाफामा लैजाने र क्षमता विस्तार गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभएको छ:

१. उत्पादन क्षमता विस्तार र नाफा:

सरकारले ५६ करोड ७५ लाख रुपैयाँ थप लगानी गरेमा ३ वर्षभित्रै उक्त रकम फिर्ता गर्न सकिने अनुसन्धानले देखाएको छ। यसबाट दैनिक १८ हजार बोरा सिमेन्ट १० महिनासम्म नियमित उत्पादन गर्न सकिने र दैनिक १० हजार बोराभन्दा माथिको उत्पादनबाट मुनाफा हासिल हुनेछ।

२. सुकौरा खानीमा नयाँ उद्योगको सिफारिस:

उदयपुरमा रहेको उच्च गुणस्तरको पर्याप्त चुनढुङ्गा खानीलाई २५ देखि ३० वर्षसम्म उपयोग गर्ने गरी उदयपुरका ८ वटा पालिका, सरकार र निजी क्षेत्रको लगानीमा सुकौरा क्षेत्रमा दैनिक १० हजार टन क्लिङ्कर उत्पादन गर्ने नयाँ उद्योग स्थापना गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

३. राजस्व र निर्यातको सम्भावना:

सुकौरामा नयाँ उद्योग स्थापना गर्दा राज्यले वार्षिक ३ सय करोड (३ अर्ब) रुपैयाँ राजस्व प्राप्त गर्ने, व्यापक रोजगारी सिर्जना हुने र स्थानीय आर्थिक गतिविधि बढ्नेछ। यस क्षेत्रबाट उत्पादित उत्कृष्ट क्लिङ्कर भारतीय बजार (बिहार र उत्तर प्रदेश) मा निर्यात गर्न सकिने वा स्वदेशी सिमेन्ट उद्योगहरूलाई बिक्री गर्न सकिने सम्भावना अनुसन्धानले देखाएको छ।

“शोधपत्र व्यवहारिक समाधानका लागि हुनुपर्छ”
विद्यावारिधि हासिल गरेपछि डा. न्यौपानेले भन्नुभयो— “अनुसन्धान केवल शैक्षिक दस्तावेज वा शोधपत्रमा मात्र सीमित रहनु हुँदैन, यसले व्यावहारिक समाधान र सकारात्मक परिवर्तनका लागि मार्गदर्शन गर्न सक्नुपर्छ। उदयपुर सिमेन्ट उद्योगसँग मेरो व्यावसायिक अनुभव र व्यक्तिगत प्रतिबद्धता जोडिएकाले यसैलाई अनुसन्धानको विषय बनाएको हुँ।”

अहिले सरकारले उद्योगका लागि नयाँ महाप्रबन्धक चयनको प्रक्रिया अघि बढाएको सन्दर्भमा डा. न्यौपानेले अब नयाँ सोच र ऊर्जा भएका योग्य व्यक्तिलाई नेतृत्व सुम्पनुपर्ने बताउनुभयो। आफू पुनः कार्यकारी प्रमुखका रूपमा दोहोरिने पक्षमा नरहेको स्पष्ट पार्दै उहाँले नयाँ आउने महाप्रबन्धकलाई उद्योग हितका लागि आफ्नो अनुसन्धान र अनुभवबाट निस्वार्थ सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

अनुसन्धानको यात्रामा निरन्तर साथ, सहयोग र हौसला दिने परिवार, गुरुजन, सहकर्मी, मार्गदर्शक तथा शुभेच्छुकहरूप्रति उहाँले हार्दिक आभार व्यक्त गर्नुभएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी