पशुको दानाबाट मान्छेलाई बिस्कुट: ‘प्रियागोल्ड’को कालो कर्तुत , नेपालमा लाग्यो पूर्ण प्रतिबन्ध!

पशुको दानाबाट मान्छेलाई बिस्कुट: ‘प्रियागोल्ड’को कालो कर्तुत , नेपालमा लाग्यो पूर्ण प्रतिबन्ध!

  • आइतवार, कार्तिक २, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

काठमाडौँ, १ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मानव स्वास्थ्य तथा उपभोक्ता हित संरक्षणमाथि गम्भीर खेलबाड गर्ने भारतको ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’द्वारा उत्पादित  प्रियागोल्ड बिस्कुट (Priyagold Biscuits) को पैठारी स्वीकृति, प्रवेश अनुमति तथा बिक्री–वितरणमा तत्काल रोक लगाएको छ ।

विभागद्वारा जारी सूचनाअनुसार, बडा दशैँ, २०८३ को लामो सार्वजनिक बिदा रहेको अवसरमा विभागको उच्च व्यवस्थापन समूह (SMT) र प्रोडक्ट रिकल प्राविधिक समिति (PRTC) को आकस्मिक बैठकले यो निर्णय गरेको हो

एफएसएसएआईको निरीक्षणमा गम्भीर खुलासा: दाना बनाउने चोकर बिस्कुटमा मिसावट

भारतीय उपभोक्ताको उजुरीपश्चात् भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (FSSAI) ले मिति २०२६/१०/१७ (तदनुसार मिति २०८३/०६/३१) मा जारी गरेको सूचनाअनुसार यो रहस्य बाहिर आएको हो। उक्त कारखाना निरीक्षण गर्दा गाईवस्तुको दानाका रूपमा प्रयोग गर्नुपर्ने चोकर (Cattle-Feed Bran) लाई प्रियागोल्ड बिस्कुट उत्पादनमा रेसा वा फाइबरको स्रोतका रूपमा प्रयोग गरिएको पाइएको छ। चोकर राखिएका जुटका बोराहरूको लेबलमा “गाईवस्तुको दानाका लागि” भनी उल्लेख गरिएको र ती बोराहरूमा मानव उपभोगका लागि नभएको स्पष्ट रूपमा उल्लेख गरिएको जनाइएको छ।

साथै, निरीक्षणका क्रममा कारखानाभित्र सरसफाइको चरम अभाव, कीट नियन्त्रण (पेष्ट कन्ट्रोल) मा लापरबाही, कच्चा पदार्थको अव्यवस्थित भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छतामा कमी तथा कारखाना परिसरको उचित मर्मतसम्भारसमेत नगरिएको पाइएको थियो। खाद्य सुरक्षाका न्यूनतम मापदण्डसमेत पालना नगरी गम्भीर उल्लङ्घन गरेको पाइएपछि भारतीय खाद्य स्वच्छता नियामक निकाय FSSAI ले सो कम्पनीको इजाजतपत्र निलम्बन गर्नुका साथै कम्पनीविरुद्ध अभियोजन प्रक्रिया अघि बढाउने अनुमति दिएको छ। 

नेपालमा पैठारी र बिक्रीवितरण रोक्न कडा निर्देशन, बजारबाट फिर्ता गर्न आदेश

यसै क्रममा, अर्को निर्णय नभएसम्मका लागि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सो कम्पनीका सबै उत्पादनहरूको पैठारी स्वीकृति स्थगित (Suspension) गरिएको छ। साथै, प्रवेश नाकाहरूबाट प्रवेश अनुमति दिन र नेपालमा पैठारी भई आएका सम्पूर्ण प्रियागोल्ड बिस्कुटहरू बिक्री–वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) र ३८ (४) बमोजिम प्रियागोल्ड बिस्कुटका आधिकारिक पैठारीकर्ता तथा खाद्य व्यवसायीहरूलाई बजारमा रहेका यी उत्पादनहरू तत्काल फिर्ता (Product Recall) गरी सुरक्षित रूपमा सञ्चयन तथा अभिलेखिकरण गर्न पनि आदेश दिइएको छ। यदि धुलो पार्नुपर्ने र यी उत्पादनहरू नष्ट गर्नुपर्ने अवस्था आएमा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतका प्राविधिक कर्मचारीको रोहबरमा उपयुक्त तरिकाले नष्ट गरी विभागलाई अनिवार्य रूपमा सूचित गराउन आदेश दिएको छ। यदि कसैले  यो निर्देशनको उल्लङ्घन गरी जनस्वास्थ्यमा खेलबाड गरेमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कारबाही हुने चेतावनी समेत दिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ