अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन्। प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो।
जुरीले करिब पाँच घण्टा विचारविमर्श गरेपछि स्थानीय समयअनुसार साँझ ५ बजे फैसला सुनाएको थियो। फैसला सुनाइएसँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ। उनको सजाय निर्धारण सन् २०२७ को मार्चमा हुने तय भएको छ।
फैसलापछि कमनवेल्थका अभियोजनकर्ता एमी एशवर्थले ममताको जीवन अन्त्य गर्ने नरेशविरुद्धको फैसलाले न्यायको महत्त्वपूर्ण पक्ष पूरा गरेको बताइन्। उनले ममताको परिवारले दुई वर्षभन्दा बढी समयदेखि पीडा र अनिश्चितता भोग्नुपरेको उल्लेख गरिन्।
मंगलबार भएको सुनुवाइमा अभियोजन पक्षले प्रतिवादका लागि विषविज्ञान विशेषज्ञ डा. अबिगेल केर्न्स र नरेशका पूर्वरूममेट आकाश रचलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो। विशेषज्ञ केर्न्सले ममताले आत्महत्या गर्न प्रयोग गरेको भनिएको सेल्फोस नामक कृषि विषादीमा हुने एल्युमिनियम फस्फाइडको असरबारे अदालतमा बयान दिएकी थिइन्। उनका अनुसार उक्त पदार्थ शरीरमा प्रवेश गरेपछि फस्फिन ग्यास उत्पादन भई पेटमा तीव्र दुखाइ, बान्ता, मुटुसम्बन्धी समस्या र श्वासप्रश्वासमा कठिनाइ गराउन सक्छ। गम्भीर अवस्थामा विष सेवन गरेको केही घण्टाभित्रै ज्यान जान सक्ने उनले जानकारी दिइन्।
यस्तै, नरेशका पूर्वरूममेट आकाश रचले सन् २०२१ मा उनीसँगै बस्दा भएको विवादका क्रममा नरेशले बन्दुक निकालेर आफू र आफ्नी पत्नीलाई धम्क्याएको बयान दिएका थिए। ममताकी निकट साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले ममता आत्महत्या गर्ने स्वभावकी नभएको र उनले आफूलाई कहिल्यै आत्महत्या गर्ने इच्छा व्यक्त नगरेको बताएकी थिइन्। उनले सन् २०२३ को डिसेम्बरमा ममताको अनुहारमा चोटसमेत देखेको अदालतमा बयान दिएकी थिइन्।
अभियोजन पक्षले मुद्दामा करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको जनाएको छ। तर, प्रतिरक्षा पक्षले अभियोजन पक्षले आरोप पुष्टि गर्न नसकेको दाबी गर्दै नरेशले अदालतमा दिएको बयान सत्य भएको जिकिर गरेको थियो। नरेशले ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए। ममता सन् २०२४ मा बेपत्ता भएपछि उनको खोजी र घटनाको अनुसन्धान सुरु भएको थियो।