साउदी अरबको पूर्वी प्रान्तस्थित साउदी अरामकोको शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परि एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। उक्त आक्रमणमा परी एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार बिहान तेल क्षेत्रको प्रशोधन केन्द्रलाई निशाना बनाएर प्रहार गरिएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै खसालेको थियो। तर त्यसको मलबे (भग्नावशेष) खस्दा तेल क्षेत्रमा कार्यरत ठेकेदार कम्पनीको एउटा सवारी साधनमा आगलागी हुन पुगेको थियो।
सोही घटनामा परी एक नेपाली र एक फिलिपिन्सका नागरिकको मृत्यु भएको हो। मृतक नेपालीको परिचय, ठेगाना तथा घटनाको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
ऊर्जा मन्त्रालयका अनुसार आगलागी तेल प्रशोधन केन्द्रको मुख्य परिधिबाहिर भएको र त्यसले तेल उत्पादन तथा सञ्चालन प्रक्रियामा भने कुनै असर नपुर्याएको जनाइएको छ।