अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुनुहुन्छ । तर उहाँलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ । उहाँको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनुहुनेछ । क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ ।
दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुग्नुभएकी मार्राले ओटोमन शासनदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका परिवर्तन देख्नुभएको छ । राजधानीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उहाँ फलफूलका रूखले घेरिएको घरमा आफ्नै खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने काम गर्नुहुन्थ्यो । “जीवन सुन्दर छ, माउन्ट टोमोरजस्तै फुलेको छ”, उहाँले मुस्कुराउँदै भन्नुभयो । उहाँको विश्वास छ, “भगवान्ले जति समय बाँच्न लेख्नुभएको छ, मानिस त्यतिन्जेल बाँच्छ ।”
उहाँको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालैको परिचयपत्र परिवारसँग सुरक्षित छन् । सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ । उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आइजी नोबेल पुरस्कार पाएको एक अध्ययनले पनि औँल्याएको थियो ।
मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार, आमाको उमेर १०० वर्ष पुग्दा स्थानीय अधिकारीहरूले उहाँ जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकेका थिए । त्यसपछि साक्षीको बयानसहित प्रमाण पेस गरेपछि मात्र पेन्सन पुनः सुरु भएको थियो । यसै महिनाको सुरुमा सरकारले उहाँको उमेरलाई मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ ।
मार्रा अझै बिहान उठेर आँगन सफा गर्नुहुन्छ, फूलमा पानी हाल्नुहुन्छ र कफी पिउनुअघि कुखुरालाई दाना दिनुहुन्छ । छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्नुहुन्छ र सुगन्ध लिन तुलसीका पात खल्तीमा राख्नुहुन्छ । छोराका अनुसार उहाँको स्वास्थ्य राम्रो छ र उहाँले कहिल्यै औषधि लिनुभएको छैन ।
श्रीमान्को निधन भएको ३६ वर्ष बितिसक्दा पनि उहाँ सँगै बिताएका दिन सम्झेर मुस्कुराउनुहुन्छ । परिवारले मिलाइदिएको विवाह मायालु रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नत्र म उहाँसँग सात सन्तान कसरी जन्माउन सक्थेँ र ?”
मार्राले परिवारका पाँच पुस्ता हुर्किएको देख्नुभएको छ । आफन्त र साथी गुमाउँदाको पीडा सम्झँदा उहाँ भावुक बन्नुहुन्छ, तर परिवारका सदस्य घर आउँदा खुसी हुनुहुन्छ । “मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु”, उहाँले भन्नुभयो । युवावस्थाको सम्झनाका रूपमा उहाँसँग सेतो पछ्यौरा लगाएको आफ्नै तस्बिर छ । उक्त तस्बिर झन्डै एक शताब्दी पुरानो हो ।