काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारसँग जोडिएको विवादित अडिओ र उहाँमाथि उठेका प्रश्नहरूबारे आन्तरिक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै सांसद सुनारका सम्बन्धमा सार्वजनिक भएका श्रव्य (अडिओ) सामग्री र मिडियामा आएका समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ। महामन्त्री आचार्यले यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन थाल्न निर्देशन दिइसकिएको जानकारी दिनुभएको छ।
छानबिन प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि अनुसन्धानको निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक भएका समाचार तथा अडिओमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयहरू उठेका छन्। रास्वपाले यी विषयहरूलाई अत्यन्त गम्भीर र संवेदनशील भन्दै महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको ‘शून्य सहनशीलता’ को नीति रहेको स्पष्ट पारेको छ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसक्ने विज्ञप्तिमा भनिएको छ।
साथै, राज्यका सम्बन्धित निकायहरूबाट पनि यस विषयमा अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेमा रास्वपाले विश्वास व्यक्त गरेको छ। राज्यका निकायले गर्ने अनुसन्धानमा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै रास्वपाले ‘कानुनभन्दा माथि कोही हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको र दोषी पाइए कानुन तथा विधानबमोजिम कारबाही गरिने जनाएको छ।