शैलुङ जंगलको डढेलो भयावह अवस्थामा, सानो शैलुङ मन्दिर जोखिममा

शैलुङ जंगलको डढेलो भयावह अवस्थामा, सानो शैलुङ मन्दिर जोखिममा

  • बिहिबार, बैशाख २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २० वैशाख । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–७ स्थित शैलुङ जंगलमा लागेको डढेलो भयावह बनेको छ । यही मंगलबार दिउँसो ३ बजेतिरबाट डोरखानीबाट सुरु भएको डढेलो बिहिवार तेस्रो दिन झनै भयावह बनेको हो ।

आगलागी नियन्त्रणका लागि बुधबार बिहान दोरम्बा ब्यारेकबाट नेपाली सेना समेत खटिएको तर स्थलबाट नियन्त्रणमा लिन असंभव भएपछि दिउँसै सेना फिर्ता भइसकेका छन् । बुधबार दिनभर चलेको हावाहुरीले आगो थप फैलिएको र आज जंगलको घना क्षेत्रतर्फ प्रवेश गरेको स्थानीय नरबहादुर तामाङले बताए । झिरिङगे हुँदै सालमी भएर फैलिएको आगो अहिले वष्र्यौंनि हुँदै सानो शैलुङ मन्दिर क्षेत्रमा प्रवेश गरेको र मन्दिर उच्च जोखिममा परेको उनले बताए । मन्दिर जिल्लाकै मुख्य धार्मिक स्थल भएकोले डढेलोबाट बचाउन सबै पक्षबाट पहल हुनुपर्ने उनको भनाइ छ । पानीले मात्र आगो नियन्त्रणमा लिन सकिने तर पानीको ठूलो स्रोत नभएकाले डढेलोले भयावह रुप लिएको उनले बताए ।

उनका अनुसार पूरै जंगल क्षेत्रमा आगो फैलिने अवस्था रहेको र पूरै क्षेत्रमा पुग्न कम्तीमा दुई हप्ता लाग्न सक्छ । त्यसपछि आगो पूर्णरुपमा निभ्न २ महिना लाग्ने उनको भनाइ छ । पानी पर्ने संभावना नरहेकाले आगो फैलिने क्रम रोकिने संभावना रहेको उनले बताए । अहिले पनि आफूहरु काफलडाँडा र ओख्रेनी क्षेत्रमा आगो निभाउने कार्यमा खटिरहेको मिर्मिरे अनलाइनसँग बताए । डढेलोले वनचर, वन्यजन्तु, जंगलस्रोत नष्ट हुनुका साथै सयौं घरधुरीको पानीको मुहान नै सुक्ने खतरा बढेको स्थानीयहरुको भनाइ छ । बुल्कु, ओख्रेनी क्षेत्रमा लागेको आगलागीले लोङा र काफलडाँडा बस्तीमा लैजाने खानेपानी पाइमा क्षति पुगेको बताएका छन् । आगो थप फैलिँदा अन्य बस्तीमा लैजाने खानेपानी पाइपमा पनि क्षति पुग्ने संभावना रहेको स्थानीयले बताएका छन् । अहिलेसम्म जंगलको कुल क्षेत्रमध्ये करिब ७/८ प्रतिशत भागमा डढेलो फैलिाएको उनीहरुको दाबी  छ ।

दिउँसो वेगमा हावा चल्ने र राति घना जंगलमा छिर्न असुरक्षित हुने भएकाले स्थानीय तवरबाट आगो नियन्त्रण लिन मुश्किल भइरहेको उनीहरुको भनाइ छ । आफूहरुको प्रयासमा राज्यले सघाउ पुर्याए डढेलो थप फैलिनबाट रोक्न सकिने स्थानीय पेमसिंले बताए । आगलागीबाट स्थानीयको जंगलस्रोत मात्र नभइ जंगलमा रहेका जनावर, पंक्षीको बासस्थान नष्ट हुने उनले बताए ।

आगो नियन्त्रणबारे राखिएको जिज्ञासामा रामेछाप जिल्ला प्रमुख अधिकारी (सीडीओ) अनिता निरौलाले जिल्लाका धेरै स्थानमा डढेलोका घटना भइरहेको र दमकल पुग्न सकिने अवस्था रहेसम्म दमकल पठाउन सकिने बताइन् । आफूले प्रदेशदेखि केन्द्र सरकारसँग बुझेको र तत्काल हेलिकोप्टरबाट पानी हाल्ने अवस्था नरहेको उनको भनाइ छ ।


शैलुङ जंगलमा जारी डढेलो क्षेत्रमा दमकल पुग्न सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ । यो जंगल वडा नंं ७ र ४ मा फैलिएको छ । डढेलो फैलिँदै जाँदा काठमाडौंबाट पासेवान पुग्ने सडक समेत अवरुद्ध हुने अवस्था रहेको छ । आगो छेउछेउबाट घना जंगल प्रवेश गर्ने क्रममा रहेकोले राज्य ठोस पहल लिए नियन्त्रणमा लिने सकिने स्थानीयहरुको भनाइ छ ।

आगो दिनदिनै भीषण बन्दै घना जंगलमा पस्ने क्रम रहेकोले राज्यबाट ठोस पहल हुन नसक्दा आफूहरु टुलुटुलु हेरेर बस्नुबाहेक उपाय नरहेको वडा नम्बर ७ का वडा सदस्य चन्द्र मोक्तानको भनाइ छ । आफूहरुले मुश्किलले घना जंगलबिचबाट ल्याएको बाइस सय मिटर दूरीको खानेपानीको पाइप निकालेको र अन्य छोटो दुरीको खानेपानी पाइप भने जलेको उनले बताए । डढेलो थप फैलिएको खण्डमा विभिन्न बस्तीमा लैजाने धेरै वटा खानेपानी पाइपमा क्षति पुग्ने उनले बताए । अहिलेसम्म मानवीय क्षति हुन नपाएको उनले जानकारी दिए । आगलागीमा संलग्नको पहिचान भइसकेको पनि उनले बताए । यसअघि अज्ञात समूहबाट यो जंगलमा आगो लगाउने प्रयत्न धेरै पटक भएको र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिन सफल भएपनि यसपटक काबुबाहिर पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।


यसैबीच जागजनीका घटनामा संलग्नलाई राज्यले तत्काल पक्राउ गरी कानुनबमोजिम कारवाही गर्न माग गरेका छन् । यो समाचार तयार गर्दा बखतसम्म कोही पक्राउ परेका छैनन् ।

यसैबीच वडा नं. ७ का वडा अध्यक्ष प्रविणकुमार मोक्तानले सामाजिक संजालमा एक सन्देश लेख्दै जारी डढेलो नियन्त्रणका लागि आ-आफ्नो स्थानबाट सक्दो सहयोग र पहल गर्न आग्रह गरेका छन् ।

तस्बिरहरुः सामाजिक सञ्जाल ।

शैलुङ जंगलको डढेलो नियन्त्रणबाहिर, सेनाको टोली समेत फिर्ता

अपडेटः शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर जाँदै

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जंगलमा भिषण आगलागी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी