शैलुङ जंगल : पाँचौं दिन पनि जलिरहेछ

शैलुङ जंगल : पाँचौं दिन पनि जलिरहेछ

  • शनिबार, बैशाख २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES
प्रस्तुत तस्बिर छिमेकी जिल्ला काभ्रेको काफ्लेबाट शुक्रबार बेलुका देखिएको शैलुङ जंगल जलिरहेको दृष्य हो । स्रोतः सामाजिक सञ्जाल ।

काठमाडौं, २२ वैशाख । रामेछापको शैलुङ जंगलमा लागेको डढेलो आज पाँचौं दिन भीषण रुपमा चलिरहेको छ । यही मंगलबार फेदीनेर पर्ने दोरम्बा शैलुङ गाउँपालिका–७ डोरखानीस्थित एक स्थानीय महिलाले बारीमा सोतर जलाउने क्रममा फैलिएको भनिएको आगो बुधबार दिउँसो घना जंगलमा प्रवेश भएको थियो । स्थानीयले आफ्नै बलबुताले निभाउने कोशिस गरेपनि नसकेपछि जिल्ला विपद् व्यवस्थापन समितिलाई गुहारे ।

पटकपटकको आग्रहपछि जिल्ला विपद् न्यूनीकरण समितिका अध्यक्ष समेत रहने सीडीओले बुधबार दिउँसो दर्जन संख्यामा सेनाको टोली पठाए तर स्थलबाट आगो नियन्त्रणमा लिन सकिने अवस्था नदेखिएको जनाउँदै टोली केहीबेर पछि नै फिर्ता भयो । त्यसपछि नियन्त्रणका उपाय के हुन सक्छ भन्नेबारे जिल्लाले वास्ता नगरेको स्थानीयको भनाइ छ ।

अहिले स्थानीयले आगोका जोखिममा पर्न सक्ने घर, चौपाया, मठमन्दिर जोगाउन लागिरहेका छन् । जंगलको पूर्वी क्षेत्र सालमीबाट फैलिएको आगो जंगलको उत्तरी क्षेत्रमा रहेको प्रसिद्ध सानो शैलुङ मन्दिर नजिक पुगेको र भोलिसम्म आगो मन्दिरमा पुग्न सक्ने स्थानीय उद्वव थापामगरले बताए । स्थानीयका अनुसार पाँचौं दिन जंगलको करिब २५ प्रतिशत क्षेत्र जलेको छ । आगो दक्षिण–पूर्वबाट फैलिएकाले जंगल पूरै भाग सकिन करिब १०–१२ दिन लाग्न सक्ने स्थानीयको भनाइ छ । अहिलेसम्म आगोले लोङा गाउँमा लैजाने खानेपानीको पाइप नष्ट भएको र काफलडाँडा बस्तीमा लैजाने खानेपानी पाइपमा पनि क्षति पुगेको छ ।

आगो अहिले दोङगती (पश्चिम भाग)बाट बीच भाग र वर्षौंनी (पूर्वी भाग)बाट उत्तर (घना क्षेत्र)तर्फ अगाडि बढिरहेको थापाले बताए । त्यहाँबाट बढेको आगो मन्दिर प्रवेश गर्ने र त्यसो भएमा गुफाका दर्जन घर जोखिममा पर्ने उनले बताए । यसबारे वडा नंं ४ पासेवानमा रहेको प्रहरी चौकीलाई जानकारी गराइ सकेको उनले बताए । वडा नं. ४ का दर्गा, भोर्ले, मगरदर्गा, टेक्सिङ र वडा नं. ७ का टार, पुँडी, केउरानी, डाडाटोल, काफलडाँडा, लोङा थापागाउँ, पाङचेत, डाडागाउँ, डोरखानीका करिब चार सय घरधुरीका पानीको मुख्य स्रोत रहेको यो जंगल सखाप हुने भएपछि स्थानीय चिन्तित बनेका छन् । जंगल जोगाउन हेलिकोप्टरबाट पानी वर्षाएर डढेलो नियन्त्रणमा लिने बाहेक अन्य उपाय नरहेको वडा नं. ७ का अध्यक्ष प्रविणकुमार मोक्तान र ४ का अध्यक्ष श्यामलाल घिसिङको भनाइ छ । वडामा बलियो स्रोत नभएकाले पानी वर्षाउने विषय संभव नरहेको उनीहरुको भनाइ छ ।

‘हामी विशाल जंगल जलेको दृष्य टुलुटुलु हेर्नु शिवाय केही छैन’ अध्यक्ष मोक्तानले चिन्तित भावमा भने, ‘जति कोशिस गरेपनि नियन्त्रणमा लिन सकिएन । सयौं घरधुरीको पानीको प्रमुख स्रोत र शैलुङ क्षेत्रकै सौन्दर्य बोकेको यो जंगल पूरै जलेर खरानी हुने भयो । हामी पीडामा छौं ।’

दक्षिण फेदी क्षेत्रमा पर्ने डोरखानीनजिकै पर्ने ५९ हेक्टर क्षेत्रको ब्रम्हमविष्णु वन डढेलोबाट ध्वस्त भएको जानकारी उनले दिए । त्यस जंगलबाट मुहान बनाइ डोरखानी, डाँडागाउँ, घट्टेखोला लगायत बस्तीमा लैजाने सयौं खानेपानीको पाइप समेत डढेलोबाट नष्ट भएको उनले बताए ।

डढेलोबाट लोङा र काफलडाँडाका बस्तीमा दोङगती मुनिको क्षेत्र पेटारीखोप खोल्सास्थित (ओख्रेनी खोला)बाट फरकफरक ठाउँमा इनटेक बनाएर लगेका २० र २५ एमएमको करिब बाइस सय मिटर खानेपानी पाइप डढेलोबाट नष्ट भएको जानकारी मोक्तानले दिए ।

खानेपानीको पाइपल जलेका कारण लोङा, डोरखानी, डाँढागाउँ, घट्टेखोला लगायतका बस्तीमा पानीको हाहाकार मच्चिएको उनले बताए । पाङचेतमा खानेपानीको समस्या परेको छ ।

यस्तै, यही वैशाख १४ गते पाङचेत नजिकको जंगलमा लागेको डढेलोबाट खापुखोलाबाट बस्तीमा लैजाने २० र २५ एमएमका चार लाइन पाइप गरी झण्डै तीन हजार मिटर जलेर नष्ट भएको उनले बताए । अहिले क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए । पाइपमा क्षति पुगेका कारण ती बस्तीमा खानेपानीको हाहाकार चलेको उनले बताए ।

आगो अहिले जंगलको दक्षिणतर्फको फेदी क्षेत्रमा निभिसकेको र पूर्व–पश्चिमतर्फबाट बढेको आगो उत्तरतर्फ बढिरहेको उनले जानकारी दिए । पूर्वबाट वर्षौंनी हुँदै तलतल सर्दै आइरहेको आगो सानो शैलुङ मन्दिरतर्फ बढिरहेको आज बिहान मात्र आफूले पाएको उनले बताए ।

आकाशे पानी नपरे आगलागीबाट जंगल पूरै सकिन डेढ हप्ता लाग्न सक्ने उनको भनाइ छ । तीन दिशाबाट बढिरहेको आगोका कारण घना जंगलभित्रका रहेका वन्यजन्तु उत्तरतर्फका सडकमा निस्कने र मानवीय क्षति पुर्याउन सक्ने खतरा बढेको उने बताए । आगोबाट के कति वन्यजन्तु क्षति भएको भन्ने जिज्ञासामा अध्यक्ष मोक्तानले आगो अहिले घना जंगल क्षेत्रमै भएकाले वन्यजस्तुको अवस्थाबारे केही भन्न नसकिने बताए । आगो नियन्त्रणका जिल्लामा पहल गरेपनि परिणाम आउन नसकेको उनले बताए ।

शैलुङ जंगलको डढेलो भव्यतव्य नभई नियोजित रुपमा लगाएको स्थानीयको भनाइ छ । दोषीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन राज्यले आनाकानी गरेको भन्दै उनीहरुले आक्रोश समेत पोखेका छन् । यो समाचार तयार गर्दा बखतसम्म डढेलो लगाउने घटनामा प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

यसअघि देखिनै अज्ञात समूहले जंगलमा आगो लगाउने प्रयास गरिरहेको र स्थानीयको पहलमा निभाउन सफल हुँदै आएपनि यसपटक भने डढेलो फैलिएको बताइन्छ ।

प्रस्तुत तस्बिर छिमेकी जिल्ला काभ्रेको काफ्लेबाट शुक्रबार बेलुका देखिएको जंगल जलिरहेको दृष्य हो । स्रोतः सामाजिक सञ्जाल ।

 

शैलुङ जंगलको डढेलो भयावह अवस्थामा, सानो शैलुङ मन्दिर जोखिममा

शैलुङ जंगलको डढेलो नियन्त्रणबाहिर, सेनाको टोली समेत फिर्ता

अपडेटः शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर जाँदै

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जंगलमा भिषण आगलागी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी