एजेन्सी , बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती र कमजोर सार्वजनिक सेवाको विरोध गर्दै फ्रान्सभर पुनः विशाल जनप्रदर्शन भएको छ।
शनिवार देशका विभिन्न शहरहरूमा भएका प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ।
फ्रान्सेली गृह मन्त्रालयका अनुसार शनिवार देशभर भएका २८० भन्दा बढी प्रदर्शनहरूमा ४ लाख १० हजारभन्दा बढी नागरिक सडकमा उत्रिएका छन्। जसमध्ये राजधानी पेरिसमा मात्रै १ लाख १० हजार मानिसले प्रदर्शन गरेका थिए। विद्यार्थी सङ्गठनहरूले भने प्रदर्शनकारीको सङ्ख्या योभन्दा निकै धेरै रहेको दाबी गरेका छन्।
दिनभरजसो शान्तिपूर्ण रहेको प्रदर्शन साँझ पर्दै जाँदा हिंसात्मक झडपमा परिणत भएको थियो। पेरिसको पोर्ट डि भिन्सेन्स क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र स्टन ग्रेनेडको प्रयोग गरेको थियो। प्रदर्शनकारीहरूले सडकमा आगो बाल्नुका साथै पटका र रकेट प्रहार गरेका थिए।
गृह मन्त्री लोरेन्ट नुनेजका अनुसार अशान्ति फैलाएको, तोडफोड तथा लुटपाटमा संलग्न भएको आरोपमा देशभरबाट करिब १ हजार जनालाई नियन्त्रणमा लिइएको छ। हिंसा भड्किन नदिन सरकारले देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ।