वासिङ्टन/तेहरान — इरानले अमेरिकासँग पुनः अर्को चरणको युद्धको तयारी गरिरहेको संकेत गर्दै वासिङ्टन र उसका सहयोगी राष्ट्रहरूविरुद्ध सार्वजनिक धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जारी द्वन्द्व पुनः दोहोर्याउनबाट रोक्न इरानले यस्तो चेतावनी दिएको हो।
गत फेब्रुअरी महिनादेखि सुरु भएको सैन्य द्वन्द्व यदि अमेरिकाले पुनः बढाउन खोजेमा क्षेत्रीय सीमाभन्दा बाहिरका लक्ष्यहरूमा प्रहार गर्न इरानसँग नयाँ हतियारहरूको ठूलो भण्डारण तयार रहेको दाबी इरानी सैन्य कमाण्डरहरूले गर्दै आएका छन्।
इरानी अधिकारीहरूले युद्ध पुनः सुरु भएमा आफ्ना निशानाहरू अझ व्यापक बनाउने चेतावनी दिएका छन्। जसमा समुद्रमुनिका इन्टरनेट केबलहरू काट्ने, एआई (AI) डेटा सेन्टरहरूमा आक्रमण गर्ने र क्षेत्रीय तेल तथा ग्यास संरचनाहरूमा हमला गर्ने जस्ता विकल्पहरू समावेश छन्।
“विश्व अचम्मित हुनेछ,” इरानको रिभोलुसनरी गार्ड्स (IRGC) का प्रवक्ता होसेन मोहेबीले भने, “हामीसँग यस्ता नयाँ लक्ष्यहरू छन् जहाँ अहिलेसम्म आक्रमण भएको छैन।”
‘लामो समयसम्म चल्ने युद्धका लागि तयार छौँ’
अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेको करिब नौ महिना बितिसक्दा पनि यो द्वन्द्व अनिर्णित मोडमा पुगेको छ। यसले विश्वभर आर्थिक अशान्ति सिर्जना गरेको छ भने ट्रम्प प्रशासनको अन्तिम रणनीति के हो भन्नेबारे अझै अन्योल छ।
दुवै पक्षले आ-आफ्नो जितको दाबी गर्दै आएका छन् — तेहरानले आफ्नो सत्ता र अस्तित्व बचाउन सकेकोलाई सफलता मानेको छ भने वासिङ्टनले इरानी सत्तामाथि पुर्याएको क्षतिलाई जितको रूपमा प्रस्तुत गरेको छ।
IRGC का प्रवक्ता मोहेबीले भने, “युद्ध अझै सकिएको छैन। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले आफूलाई लामो समयसम्म चल्ने युद्धका लागि तयार पारिसकेको छ।”
युद्धको त्रास र आम नागरिकको दैनिकी
इरानी सैन्य प्रमुखहरूले आफ्नो शक्ति र पूर्वतयारी प्रदर्शन गरिरहँदा, लगातारको द्वन्द्व र आर्थिक मन्दीबाट पिल्सिएका आम इरानी नागरिकहरू भने पुनः युद्धको प्रत्यक्ष असर भोग्नुपर्ने डरले त्रसित छन्।
तेहरानका एक ७० वर्षीय वृद्धले भने, “हामी हरेक दिन र रात फेरि कहिले बमबारी सुरु होला भनेर पर्खिरहेका छौँ। मैले मेरा सबै पावर बैंकहरू चार्ज गरेर राखेको छु, पानी र आवश्यक सामग्रीको जोहो गरिसकेको छु। आक्रमण जुनसुकै क्षण वा जुनसुकै दिन पनि सुरु हुन सक्छ।”
त्यस्तै, आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा भोग्नुपरेको डरबारे अर्की एक आमाले भनिन्, “म जान्न चाहन्छु, अमेरिकाले अझै अरू के-के बमबारी गर्न खोज्दैछ? तिनीहरूले इरानी नेतृत्वलाई पनि हटाउन सकेनन् र वार्ता पनि गर्न सकेनन्। त्यसैले अर्को युद्ध सुरु गर्नुको अर्थ के छ?”
युरोपसमेत जोखिममा: अमेरिकाद्वारा विशाल ‘MOAB’ बम प्रयोगको तयारी
ह्वाइट हाउसका सल्लाहकारहरूले इरानका लागि विभिन्न सैन्य विकल्पहरूमाथि छलफल गरिरहेका छन्। अमेरिकी सेनाले नयाँ स्ट्राइक प्लानहरू तयार पारेको छ, जसमा इरानका ऊर्जा पूर्वाधार र परमाणु केन्द्रहरूलाई निशाना बनाउन ‘सबै बमकी आमा’ प्रयोग गर्ने सम्भावना समेत समावेश छ।
यसको जवाफमा इरानी सेनाका कमाण्डर अलिरेजा शेखले भने, “यी प्रचारबाजीका औजार मात्र हुन् जसको उद्देश्य इरानी जनतालाई डराउनु हो। इरानी जनता नै सबै बमका पिता हुन्।”
रक्षा विशेषज्ञहरूका अनुसार इरानले युरोपमा रहेका अमेरिकी सैन्य अख्डाहरू (जस्तै बेलायतका एयरबेस वा जर्मनीको रामस्टाइन एयरबेस) मा नयाँ लामो दूरीका मिसाइलहरू वा एआई-सञ्चालित ड्रोन स्वार्म (Drone Swarms) मार्फत प्रहार गर्न सक्ने सम्भावना छ।
मध्यपूर्वका अन्य राष्ट्रहरू सतर्क
फेब्रुअरीको आक्रमणमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई लगायत शीर्ष अधिकारीहरूको मृत्यु भएपछि इरानले आफ्ना छिमेकी अरब राष्ट्रहरूमाथि २४०० भन्दा बढी मिसाइल र ड्रोन प्रहार गरेको थियो।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रेजाईले चेतावनी दिँदै भनेका छन्, “यदि अर्को युद्ध भयो भने यस क्षेत्रका धेरै समुद्रमुनिका केबलहरू, डेटा सेन्टरहरू र एआई सुविधाहरू ध्वस्त हुन सक्छन्।”
यसैबीच संयुक्त अरब इमिरेट्स (UAE) लगायतका क्षेत्रीय राष्ट्रहरूले पनि सम्भावित आक्रमणको सामना गर्न आफ्नो सुरक्षा व्यवस्था थप कडा र प्रभावकारी बनाएको बताएका छन्।