फ्रान्समा महँगी र विद्यालयहरूको दुरावस्थाविरुद्ध सुरु भएको प्रदर्शन नियन्त्रणबाहिर गई हिंसात्मक बनेको छ। राजधानी पेरिससहित मुलुकका विभिन्न सहरहरूमा उत्रिएका प्रदर्शनकारीहरूले ऐतिहासिक संरचनाहरूमा आगजनी गर्नुका साथै पसलहरूमा लुटपाट मच्चाएका छन्।
देशभर आयोजित प्रदर्शनमा ५ लाखभन्दा बढी मानिस सहभागी भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले हिंसामा संलग्न उपद्रवीहरूलाई कडा सजाय दिने चेतावनी दिएका छन्।
पेरिसमा युद्धग्रस्त क्षेत्रजस्तै दृश्य
राजधानी पेरिसमा मात्रै १ लाख १० हजारभन्दा बढी सर्वसाधारण सडकमा ओर्लिएका थिए। पेरिसका धेरै क्षेत्रहरूमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ। भीडलाई तितरबितर पार्न दङ्गा नियन्त्रण प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ।
ऐतिहासिक टाउन हलमा आगजनी
प्रदर्शनका क्रममा फ्रान्सको लिमोगेस सहरस्थित ऐतिहासिक टाउन हल (नगरपालिका भवन) मा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगलागीबाट भवनको माथिल्लो भाग ध्वस्त भई तल्लो तलाहरूमा खसेको छ। स्थानीय अधिकारीहरूका अनुसार भीषण आगलागीका कारण भवनको करिब दुई-तिहाइ भाग जलेर नष्ट भएको छ।
१५० भन्दा बढी प्रहरी घाइते
विभिन्न सहरहरूमा भएका तोडफोड, लुटपाट र झडपमा परी दुवैतातर्फ ठूलो संख्यामा मानिसहरू घाइते भएका छन्। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुका अनुसार प्रदर्शन नियन्त्रणका क्रममा १५० जना प्रहरी अधिकारी घाइते भएका छन्।
यस्तै, फ्रान्सको दक्षिणी सहर सेन्ट एटिएनमा प्रदर्शनका क्रममा ग्रैनेड विस्फोट हुँदा एक प्रदर्शनकारीको हात चुँडिएको जनाइएको छ। घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ।