रियाद— साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति भएको भीषण आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ भने ३०९ भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणले आइतबार बिहान एक आधिकारिक वक्तव्य जारी गर्दै यस घटनाको पुष्टि गरेको छ।
मृत्यु हुनेहरूमा चार जना साउदी नागरिक, दुई जना बंगलादेशी नागरिक तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, सुडान र प्यालेस्टाइनका १-1 जना नागरिक रहेका छन्। अधिकारीहरूका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ र उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। समाचार संस्था रोयटर्सका अनुसार आक्रमणपछि अस्पतालहरू घाइतेले भरिएका थिए भने उनीहरूलाई एम्बुलेंस र हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको थियो।
गत एक दशकयता साउदी अरबमा भएको यो नै सबैभन्दा घातक आक्रमण हो। यमनमा इरान समर्थित हुती विद्रोहीहरूविरुद्धको द्वन्द्वका कारण पछिल्लो समय साउदी अरबमा सुरक्षा जोखिम र आक्रमणका घटनाहरूमा वृद्धि भइरहेको छ।
साउदी अधिकारीहरूका अनुसार शनिबारको यो आक्रमण कुनै पूर्वचेतावनी बिना नै भएको थियो र देशको चेतावनी प्रणालीले समेत आक्रमणबारे कुनै एलर्ट जारी गरेको थिएन। यसअघि गत बिहीवार पनि रियाद विमानस्थलमा भएको आक्रमणमा ३ जनाको मृत्यु भएको थियो। यस घटनापछि साउदी नेतृत्वको सैन्य गठबन्धनले कडा जवाफ दिने प्रतिबद्धता व्यक्त गरेको छ।
आक्रमणपछि हुती मिडिया कार्यालयका प्रमुखले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत रियाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको दाबी गरेका छन्। साथै, हुती समूहले एयरलाइन्सहरूलाई साउदी हवाई क्षेत्र प्रयोग नगर्न चेतावनी दिएको छ। मक्का र मदीनाका पवित्र शहरहरूबाहेक साउदी हवाई क्षेत्रमा उडान भर्ने जुनसुकै विमान आफ्ना निशानामा रहने इरान समर्थित यमनी समूहले जनाएको छ।
यस बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुती विद्रोहीहरूविरुद्ध अमेरिकाले पनि कारवाहीमा भाग लिन सक्ने संकेत दिएका छन्। ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरूको जिज्ञासामा ट्रम्पले भने, “हामी यस्तो कदम चाल्न सक्छौँ। हामी यस विषयमा विचार गर्नेछौँ। हामीलाईर् हालै भएको आक्रमणबारे जानकारी प्राप्त भएको छ, त्यसैले हामी छिट्टै यससम्बन्धी निर्णय लिनेछौँ।”