२० असोज, २०८३ (६ अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा विशेषगरी ‘नेपाली कांग्रेस २.०’ का रूपमा प्रस्तुत नयाँ नेतृत्वले पार्टीको आर्थिक तथा वैचारिक दिशाबारे सोचेजति स्पष्टता ल्याउन नसकेको विश्लेषकहरूको टिप्पणी छ। समाजवादका नाममा विगत एक दशकमा वामपन्थी दलहरूले प्रोत्साहन गरेको आसेपासे पुँजीवाद (क्रोनिक क्यापिटलिजम) बाट पाठ सिक्दै कांग्रेसले स्वतन्त्र, निष्पक्ष र प्रतिस्पर्धात्मक बजार अर्थतन्त्रलाई पूर्ण रूपमा आत्मसात गर्ने अपेक्षा गरिएको थियो।
विशेष महाधिवेशनमार्फत रूपान्तरण र पुस्तान्तरणको नारासहित अघि बढेको कांग्रेस २.० का सभापति गगन थापाले चुनावी गठबन्धन नगर्ने र वामपन्थीभन्दा भिन्न पहिचान बनाउने दाबी गर्दै आउनुभएको छ। तर, १५औँ महाधिवेशनमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा अझै पनि परम्परागत लोकतान्त्रिक समाजवादकै व्याख्या दोहोर्याइएको छ। प्रतिवेदनले बिपी कोइरालाको ऐतिहासिक प्रतीक ‘हलो जोतिरहेको किसान’ बाट आधुनिक ‘हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवा’ लाई आर्थिक नीतिको केन्द्रमा राखेको दाबी गरे पनि व्यवहार र सिद्धान्तबिचको अन्योल उस्तै देखिएको छ।
विसं २०४८ पछि कांग्रेसकै नेतृत्वमा सुरु भएको खुला तथा उदार आर्थिक नीतिको स्वामित्व लिन हिचकिचाउनु र आर्थिक दस्तावेजमा समाजवादकै रट लगाइरहनुले पार्टीमा वामपन्थीकरणको प्रभाव कायमै रहेको सङ्केत गर्छ। महेश आचार्य र डा. रामशरण महतले सुरु गरेको उदार आर्थिक नीतिमा रहेका प्रक्रियागत कमजोरी सुधारेर निजी क्षेत्र, उत्पादकत्व र लगानी बढाउने स्पष्ट खाका कोर्नुको साटो नयाँ शब्दावली प्रयोग गरेर पुरानै समाजवादलाई ढाकछोप गर्न खोजिएको आलोचना भइरहेको छ।
नेपालमा उत्पादनको आधार र अर्थतन्त्रको संरचना परिवर्तन भइसकेको अवस्थामा केवल परम्परागत समाजवादको व्याख्या गरेर मात्रै युवा पुस्ताको आकांक्षा र समृद्धिको आवश्यकता पूरा हुन नसक्ने विश्लेषकहरू बताउँछन्। निजी क्षेत्रको लगानी सुरक्षा, रोजगारी सिर्जना र खुला बजार अर्थतन्त्रबारे व्यावहारिक तथा स्पष्ट दृष्टिकोण नल्याएसम्म ‘रूपान्तरित कांग्रेस’ को वैचारिक प्रतिबद्धतामाथि प्रश्न उठिरहनेछ।