२० असोज, २०८३ (६ अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको जारी १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। नेता शर्माका आधिकारिक वारिस पुष्पराज पौड्यालले मङ्गलबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको केन्द्रीय निर्वाचन कार्यालय पुगेर मनोनयनपत्र दर्ता गराउनुभएको हो।
नेपाली कांग्रेसको विधान संशोधन गरी १५औँ महाधिवेशनबाट पहिलो पटक वरिष्ठ उपसभापति पदको व्यवस्था गरिएको हो। सभापतिपछिको दोस्रो वरीयतामा रहने उक्त पदमा यसअघि महामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका शर्माले उम्मेदवारी दिनुभएको हो।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मङ्गलबार बिहानैदेखि राष्ट्रिय सभागृहमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ। नयाँ नेतृत्व चयनका लागि देशभरिबाट छानिएका कुल ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधि मतदाताका रूपमा सहभागी छन्।