काठमाडौँ। प्रवास (वैदेशिक रोजगारी तथा निवास) मा रहेर पनि नेपाली गीत–संगीतको श्रीवृद्धिमा निरन्तर योगदान पुर्याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३’ बाट सम्मानित भएकी छन्।
ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा काठमाडौँस्थित नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न भव्य अवार्ड समारोहमा गौतमलाई उनको सांगीतिक योगदानको कदर गर्दै ‘फूल फुल्यो केशरी’ गीतमार्फत विशेष सम्मान-पत्र प्रदान गरिएको हो।
कार्यक्रममा कला, संगीत तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। समारोहमा गौतमले दूरदराज र प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति र संगीतलाई विश्वभर प्रवर्द्धन गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरियो।
आयोजक संस्था ब्राण्डरुट इन्टरटेनमेन्टद्वारा हस्तान्तरित सम्मान-पत्रमा गौतमको सांगीतिक समर्पणको उच्च मूल्यांकन गर्दै भनिएको छ, “प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्याउनुभएकी जेनीषा गौतमको सांगीतिक यात्रा अझ निरन्तर र सशक्त रहोस्। आगामी दिनमा नेपाली गीत–संगीतको श्रीवृद्धिमा थप महत्त्वपूर्ण योगदान पुर्याउन सफल हुनुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।”
सम्मान प्राप्त गरेपछि खुसी व्यक्त गर्दै गौतमले यो सम्मानले आफूलाई सांगीतिक र सामाजिक यात्रामा अझ अगाडि बढ्न थप हौसला र जिम्मेवारी थपेको बताइन्।
आयोजकका अनुसार चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३ अन्तर्गत विभिन्न विधाका उत्कृष्ट स्रष्टा, सर्जक, गायक-गायिका तथा प्राविधिकहरूलाई पनि सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।