२० असोज, २०८३ (६ अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि राष्ट्रिय सभागृहमा मनोनयन दर्ता प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार राष्ट्रिय सभागृहमा स्थापना गरिएको निर्वाचन कार्यालयमा उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन पत्र दर्ता गराइरहेका छन्।
विशेष गरी विभिन्न पदाधिकारी पदहरूमा उम्मेदवारी दर्ता गर्ने नेताहरूको सङ्ख्या उल्लेख्य देखिएको छ। सभापति पदका लागि हालसम्म श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने सभापति गगनकुमार थापा र उम्मेदवारी घोषणा गर्नुभएका नेता किशोरसिंह राठौरको मनोनयन दर्ता हुन बाँकी रहेको छ।
विधान परिमार्जनपछि पहिलो पटक राखिएको वरिष्ठ उपसभापति पदमा भने पूर्वमहामन्त्री विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। उहाँका प्रतिनिधिले वारिसमार्फत मनोनयन दर्ता गराउनुभएको हो। यसैगरी उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीका खुला र समावेशी कोटामा पनि विभिन्न आकाङ्क्षीहरूले मनोनयन पत्र बुझाएका छन्।
खुला उपसभापति पदमा डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीको उम्मेदवारी परेको छ। यस्तै समावेशी उपसभापतितर्फ विनोद चौधरी, फरमुल्लाह मन्सुर र जीवन परियार तथा महिला उपसभापतिमा पुष्पा भुसालले मनोनयन गराउनुभएको छ।
महामन्त्री खुलातर्फ शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे र अमरसिंह पुन मैदानमा उत्रिएका छन् भने महिला महामन्त्रीमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय डिनाले दाबी पेस गर्नुभएको छ। विभिन्न समावेशी क्लस्टर अनुसारका सहमहामन्त्री पदहरूमा पनि देवेन्द्रराज कँडेल, रामहरि खतिवडा, जीवनबहादुर शाही, मीन भाम, अजयबाबु शिवाकोटी, तेजुलाल चौधरी, आङगेलु शेर्पालगायतका नेताहरूले मनोनयन दर्ता गराउनुभएको छ।