बुटवलः नेपालमा टीभीएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले बुटवलस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टर, मणिग्राममा अपाचे रेस एक्सपेरियन्स (ARE) GP रेसिङ क्वालिफायर्सको बुटवल चरण भव्यताका साथ सम्पन्न गरेको छ। बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा आयोजित यस प्रतियोगितामा उदीयमान राइडर, मोटरस्पोर्ट्सप्रेमी तथा एमेच्योर रेसरहरूको अति उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा राइडरहरूको अत्यधिक चापका कारण ७६ जना सहभागी पुगेपछि दर्ता प्रक्रिया नै रोक्नुपरेको थियो, जसले बुटवल क्षेत्रमा मोटरस्पोर्ट्सप्रतिको गहिरो रुचि र थुप्रै लुकेका प्रतिभाहरू रहेको स्पष्ट गरेको छ।
यस कार्यक्रममा सहभागीहरूले नेपालका दुई प्रख्यात राष्ट्रिय च्याम्पियनहरू—पूर्व ARE GP नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापा मगर र ट्र्याक तथा टार्मेक रेसिङकी चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानबाट व्यावसायिक प्रशिक्षण लिएका थिए। प्रशिक्षणको सुरुवात राइडिङ पोस्चर, कर्नरिङ प्रविधि, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोलसम्बन्धी सैद्धान्तिक कक्षाबाट भएको थियो भने त्यसपछि राइडरहरूले अन-ट्र्याक ड्रिलमार्फत आफ्नो रेसिङ सीपलाई निखारेका थिए।

प्रशिक्षणपश्चात सम्पन्न १६० सीसी वर्गको प्रतिस्पर्धात्मक रेसबाट ARE GP ग्रान्ड फिनालेका लागि बुटवलबाट शीर्ष तीन फाइनलिस्टहरू छनोट भएका छन्:
-
प्रतियोगितामा धीरज बि.क. ३४.०७ सेकेन्डको समयका साथ प्रथम स्थान हासिल गर्दै विजेता बनेका छन्।
-
त्यसैगरी, अभिषेक पन्थी ३४.६२ सेकेन्डका साथ प्रथम उपविजेता बनेका छन्।
-
यसैक्रममा, अरिक श्रेष्ठ ३४.८७ सेकेन्डका साथ द्वितीय उपविजेता घोषित भएका छन्।
सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको यस कार्यक्रममा विजेताहरूलाई मञ्चमा सम्मान गरिएको थियो। यी तीनै जना फाइनलिस्टले अब ग्रान्ड फिनालेमा काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका शीर्ष क्वालिफायर्ससँग प्रतिस्पर्धा गर्नेछन्। ग्रान्ड फिनालेमा प्रथम स्थान हासिल गर्ने विजेताहरूले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्दै ५० भन्दा बढी देशका राइडरहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन्।