काठमाडौं : एन आई सी एशिया बैंकले नेपालमै पहिलो पटक Apple Pay र Google Pay मार्फत भुक्तानी स्वीकार गर्ने सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस नवीन सुविधाअन्तर्गत बैंकका ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरूले अब नेपालमै बसेर विश्वभर रहेका Apple Pay तथा Google Pay (Visa र Mastercard) प्रयोगकर्ताहरूबाट सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैंकको CyberSource Payment Gateway मा आबद्ध हुनुभएका तथा हुन चाहने व्यावसायिक ग्राहकहरूले यस सेवाको लाभ लिन सक्नेछन्। Apple Pay र Google Pay विश्वव्यापी रूपमा मान्यता प्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन्, जसले अन्तर्राष्ट्रिय ग्राहकहरूलाई भौतिक रूपमा कार्ड प्रयोग गर्नुपर्ने झन्झट बिना नै सुरक्षित रूपमा भुक्तानी गर्ने सुविधा प्रदान गर्दछ।
विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई-कमर्स तथा आईटी क्षेत्रका व्यवसायीहरू यस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। नेपालमै पहिलो पटक भित्रिएको यो सेवाले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै नेपाली व्यवसायीहरूलाई अन्तरदेशीय व्यापार विस्तार गर्न र विदेशी मुद्रा आर्जन गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ।