काठमाडौँ । कुमारी बैंक लिमिटेडले देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि कुल ३ करोड ३९ लाख रुपैयाँ बराबरको ठूलो सहयोग उपलब्ध गराएको छ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ नगद सोझै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको छ।
यसैगरी, विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रविधियुक्त र थप प्रभावकारी बनाउन बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका आधुनिक उपकरणहरू नेपाली सेनाको नुवाकोटस्थित क्याम्पलाई हस्तान्तरणका लागि पठाएको छ। पठाइएका सामग्रीहरूमा ५ वटा अत्याधुनिक AI जडित सर्भिलेन्स ड्रोन (Surveillance Drone), ३ वटा ५ KVA क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक रहेका छन्। हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायतका जिल्लाहरू अति प्रभावित भएका छन्।
बाढीपीडित परिवारलाई खाद्यान्न, अस्थायी आश्रय र अत्यावश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँगको समन्वयमा यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ। प्राकृतिक संकटको यस कठिन घडीमा दुःख व्यक्त गर्दै कुमारी बैंकले राहत, उद्धार र पुनर्स्थापना कार्यलाई अझ तीव्र बनाउन सम्बन्धित निकायहरूसँग आग्रह गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएका नागरिकहरूको सुरक्षित उद्धारको आशा व्यक्त गरेको छ।