काठमाडौं, एनआईसी एशिया बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धार तथा राहत वितरणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत २ करोड रुपैयाँ र बैंकका सञ्चालक तथा कर्मचारीहरूबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (CEO) सुजित कुमार शाक्यले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो।
गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आकस्मिक रूपमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति भएको छ। बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ।
बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंक परिवारले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै प्रार्थनासमेत गरेको छ। बैंकले हालसम्म सम्पर्कमा नआएका नागरिकहरूको शीघ्र उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।