विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस

विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस

  • सोमवार, साउन १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौँ, १८ साउन : मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवस विशेष समारोह विविध कार्यक्रम आयोजना गरी नेपालमा मनाइएको छ ।

नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले अतिथिहरूको सम्मानमा आइतबार साँझ यहाँ रात्रिभोजको आयोजना गरेको थियो । सो अवसरमा नेपाल र भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्का, महावाणिज्यदूत मेघा चौधरीलगायतले दुई देशका आपसी हित र सम्भावित व्यापार, लगानी र पर्यटनका विविध विषयमा चर्चा गर्नुभएको थियो ।

उहाँहरुले नेपाल र मोरक्कोबीच स्थापना भएको मैत्रीपूर्ण र कूटनीतिक सम्बन्धका साथै आगामी दिनमा व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदान–प्रदानका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएकोे थियो । समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, दुवै देशका उच्च सरकारी अधिकारी, व्यापारी, लगानीकर्ता, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

यसअघि आइतबार बिहान महावाणिज्यदूतको कार्यालय, थापाथलीमा विशेष समारोहको आयोजना गरी मोरक्कोका राजदूत मलिकी र वाणिज्यदूत चौधरीले संयुक्त रूपमा मोरक्कोको झण्डा फहराउनुभएको थियो ।

सो अवसरमा महावाणिज्यदूत मेघा चौधरीले मोरक्कोको संस्कृति, कला र पर्यटनलाई नेपालीमाझ परिचित गराउन र दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो । बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका सहअध्यक्षसमेत रहनुभएका चौधरी गत फागुनमा नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त हुनुभएको थियो ।

दिवसकै अवसरमा मोरक्कोको कला, संस्कृति र पर्यटनलाई नेपालीमाझ परिचित गराउने तथा द्विपक्षीय सम्बन्ध, सहकार्य, व्यापार तथा पर्यटकीय आदानप्रदानलाई थप मजबुत बनाउने उद्देश्यले आइतबार प्रदर्शनी आयोजना गरिएको थियो ।

ललितपुरको एक होटलमा आयोजना गरिएको प्रदर्शनीमा मोरक्कन परिकार, परम्परागत माटोका सामग्री (पोटरी), मोरक्कन शैलीको सजावट, पर्यटनसम्बन्धी जानकारी तथा ट्राभल डेस्क रहेका थिए । मोरक्कोले हरेक वर्ष जुलाई ३० लाई वर्तमान राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको दिनको सम्झनामा राष्ट्रिय दिवसका रूपमा राष्ट्रिय महत्वका साथ मनाउने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी