हुस्सुले ढाकेको एउटा दिन
सिरेटोले दपेटेको मौन जिन्दगी
मुखियाको विभेदकारी दलानमा बसेर
दुर्गी जीवन तुनि रहेकी छे
सियो धागोसंग अभ्यस्त बन्दै
मुखिया मुखिनीको मुहार हसाउँन ।
जति जिन्दगी तुने पनि
तुनिएन फाटेको आङ
बुनिएन जीवनको गुँड
मुखमा हाल्ने माड नभेटिएरै
वैंश ओरालो लाग्यो
दुर्गीको खसम नेत्र
दृष्टिविहीन छ
उसको उज्यालो हेर्ने रहर
अधुरै रह्यो
दुर्गीले संघर्ष नगरेकी हैन
दुर्गीकोे जीवन संघर्ष
इतिहासले चिनेन
पानीको फोका फुटे जसरी
फुटाइयो उसको जीवनको सपना ।
निरक्षर दुर्गी
नियतिले चुटेको पत्तै नपाई
असमानताको लिस्नो उक्लदै ओर्लदै
निराशालाई पैतालाले कुल्चिएर
जीवनको परिभाषा खोजि रहेकी छे
जीवन कसरी बाँच्नु पर्छ ?
जीवन संगै प्रश्न गरिरहेकी छे ।
अविश्रान्त उर्जा बोकेर
छुतहरुको आँखाको कसिङ्गर बन्दै
सामाजिक बन्धन चुँडाल्ने साहस गर्नु पथ्र्यो
विद्रोह गर्न नसक्दा
जिन्दगीलाई पूर्व जन्मको फल ठान्दै
दुर्गी अवोला भगवानसंग प्रश्न गर्छे
भगवान तिम्रो न्याय कता हरायो ?
अक्सर मान्छे
मान्छेलाई किन डस्छ ?
श्रम लुटेर
पसिना चुसिन्छ
सिप चलाइन्छ
चलाइदैन पानी
रगत रातै छ
दुर्गीको सपना प्रति किन बेइमानी गरिन्छ ?
म पढि रहेछु
दुर्गीको जिन्दगी
दुर्गी, आन्दोलनको नारा हो
दुर्गी, क्रान्तिको नायिका हो
दुर्गी
प्रसव पीडाले छटपटिदै
भष्मासुर जन्माउ
अनि भष्म पार्न लगाउ
कथित उपल्लो जातका शिरहरु
र गीत गाउ
मुक्त आकाशको ।
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५