विचौलिया र बुख्याँचाहरू

विचौलिया र बुख्याँचाहरू

  • सोमवार, साउन ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 26.3K
    SHARES

                                                                                                          -अग्निराज पौडेल’अराप’

उत्सव बनेको छ हत्या र हिंसा
बधशाला बनेका छन् गरिब बस्तीहरू
उत्पीडनमा परेको छ
सरकार बनाउने काँध पनि
को छ बहादुर
सत्ताको दमन हो भन्न सक्ने
काँध र जिब्रो पनि तिम्रै हो
गर्धन र छाती पनि तिम्रै हो
सजाय कहाँ पाएका छन्
सत्ताका बुख्याँचा र बिचौलियाहरूले
कर्ता अर्कै छ, पण्डित अर्कै छ
हामी त मात्र मोहरा हौँ ।

हामीले नै हो भलो कुभलो सोच्ने
गाह्रो साह्रो टार्ने, सरसहयोग गर्ने
हामीले भनेको मान, अह्राएको गर
हामीले दिएको खाऊ
हाम्रो ढाल बन
घाइते भए सरकारी अस्पतालमा
मृत्यु भए सहिदको पङ्क्तिमा
अमर रहने छ तिम्रो नाम
हुनेछ तिम्रो सम्मान ।

तिम्रा परिवार पनि हाम्रै हुन्
तिनका उत्कट इच्छा पनि हाम्रै हुन्
मिहिनेत गरिरहेका छौँ तिमीहरूकै लागि
आकाङ्क्षा र लक्ष्य ठुलो छ
गर्नु छ धेरै देश र जनताका लागि
तर्नु छ जङ्घार तिम्रै काँधमा टेकेर
बाधा नपु¥याऊ कुनै पनि
नउठाऊ शिर हाम्रा अगाडि
पन्छिएर मूल सडकबाट
किनारमै बस अनुशासित बनेर
जसरी हामी आज्ञाकारी बनेका छौँ ।

योजना बनाएका छौँ
सौदागर बोलाएका छौँ
तिमीहरूकै भविष्य सुधार्नका लागि
आवश्यक परे बोलाउँला तिमीलाई पनि
बचेखुचेको खुवाउँला
जुठोपुरो उठाउन लगाउँला
जाबो यति गर्न पनि गाह्रो मान्छौ ।

हाम्रो फैसला नै सही हो
हामीले भने जस्तो नै हुनुपर्छ
सोचेर समय खेर फाल्ने होइन
पढेर अलमलिने पनि होइन
अनुशासन सिक सभ्य बन
बोल्ने होइन भजन गाउने हो
लड्ने खोस्ने होइन माग्ने हो
खुसी खुसी हात थाप्ने हो ।

कुन रहनसहन मान्ने हो
कुन धर्म अपनाउने हो
कुन ठाउँमा बस्ने हो
कुन बाटो हिँड्ने हो
कसलाई ढोग्ने हो
कसलाई ठोक्ने हो
तिमी झन्झटमा किन पर्छौ
हामी जे भन्छौँ त्यही गर ।

तिमीलाई सम्झिनेछौँ हामी
हामीलाई हाम्रा मालिकले सम्झिरहून्
धेरै सोचेर झमेलामा नपर
कहिलेकाहीँ तर्सिने गर
डराउन सिक
हामीसँग सरकारसँग सत्तासँग
भुइँमान्छे हौ नागरिक हुन नखोज
भुइँमै हिँडेको राम्रो आकाशमा उड्न नखोज
हाम्रो गुण गाऊ, पिँढी दरपिँढी सेवा गर
उद्धार गर्ने हामीले नै त हो ।

भिन्न–भिन्न समयमा
पृथक–पृथक अवतारमा
आइरहनेछौँ तिम्रा अगाडि
कहिले दाता बनेर आउँछौँ
कहिले मित्र बनेर माग्न आउँछौँ
कहिले शत्रु भएर लुट्न आउँछौँ
कहिले आफन्त भएर सुम्सुम्याउँदै आउँछौँ
उध्याएको छुरी बोकेर आउँछौँ
क्रान्तिकारीको आवरणमा आउँछौँ
सत्ताको लौरो बोकेर आउँछौँ
विधि बोकेर विधि मास्तै आउँछौँ
सामन्तको अवशेष लिएर आउँछौँ
निगम पुँजीको समृद्धि देखाउँदै आउँछौँ
पन्छिन कहाँ पाउँछौ तिमी
हामीले अह्राएको मान, सिकाएको गर ।

बोली र आचरण फेर्ने दुस्साहस नगर
मासिने बाटो नसमाऊ
दिमागमा विचार, विद्रोह र प्रतिरोध नराख
अपराधीहरूको जमघट भनेर
नरसंहारको खेल खेलिन सक्छ
उत्सव बन्न सक्छ नरमेधको
दोहोरिन सक्छ इतिहास फेरि पनि ।

गणतन्त्रमा पर्व बनेको छ
सामन्तीका उत्सवहरू
मनोरञ्जनमा फेरिएको छ
गरिबका सङ्घर्षहरू
सामन्तवादको अवैध भ्रूण बोकेर
लोकतन्त्र चलाइरहेका छन्
मानव बधशालाका कसाइहरू ।

हिजो न सजाय पाए उनीहरूले
न आज डराउँछन्
सधैँ मुनाफामा रहेका छन्
सत्ता र सरकारका विचौलियाहरू
अदृश्य मालिकका दास बुख्याँचाहरू ।
… … … …
२०७९ पुस ११

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी