विशेष अधिवेशन अस्विकृत गर्दै राष्ट्रिय भेलाले दिएको वैचारिक सन्देश

विशेष अधिवेशन अस्विकृत गर्दै राष्ट्रिय भेलाले दिएको वैचारिक सन्देश

  • बुधबार, भदौ ३, २०८३
  • विजयकुमार पन्त

  • 2.5K
    SHARES

नेपाली कांग्रेसका सभापति (पुस २७ मा आयोजित गगन नेतृत्वको विशेष अधिवेशन कानुनी रूपमा अवैधानिक र राजनीतिक रूपमा असंगत रहेको पङ्क्तिकारकाे बुझाइ यथावत् छ। ) शेरबहादुर देउवाकाे प्रमुुख आतिथ्यतामा काङ्ग्रेसको तीनदिने राष्ट्रिय भेला श्रावण २९ गते शुक्रबार काठमाडौंकाे धुम्बाराहिस्थित  मिराकल पार्टि प्यालेसमा सुरु भएर पाँचबुँदे प्रस्ताव (पार्टी सभापति शेरबहादुर देउवाकै सभापतित्वमा १५ आ‍ैँ महाधिवेशन सम्पन्न गर्ने, राष्ट्रिय एवं लाेकतन्त्रवादी शक्तिहरूसँग संवाद गरि राष्ट्रियता, लाेकेतन्त्रकाे सुदृढीकरणका लागि कृयाशील रहने, धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै सनातन देखि चलिआएको हिन्दु, बाैद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढाउने, वर्तमान संविधान जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्ने र राष्ट्रिय भेलामा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरूलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरूलाई लिखित गर्ने निर्णय ) पारित गर्दै सकिएको छ ।

आफ्नाे स्वास्थ्य उपचार गराएर करिब पाँच महिनापछि स्वदेश फर्किएका सभापति देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कांग्रेस एकताबद्ध हुने बताए । उनले भने “लामो इतिहास भएको कांग्रेस भित्रकाे विवाद विशेष महाधिवेशनबाट विधि र विधान मिचिएसँगै सुरू भएको हाे सम्मानित सर्वोच्च अदालतबाट न्याय हुनेमा पूर्ण विश्वस्त छु ।” उनले थपे, नेपाली काङ्ग्रेसमा  विवाद हुँदा राष्ट्रियता र लोकतन्त्र कमजोर हुने भन्दै विवादमा सहमति र सहकार्यबाटै मेलमिलाप भएको काङ्ग्रेसको अनुभव समेत सुनाए । एकातर्फ, नेपाली काङ्ग्रेसले यतिबेला आग्रह पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रियता र एकतामा जोड दिनुपर्छ  र त्यसका लागि आफू तयार रहेको बताउँदै देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने भन्दै पार्टी एकताको पक्षमा दृढ हुन समेत आह्वान गरेका छन् । अर्काेतर्फ, राष्ट्रिय भेलाका सबै बक्ताहरूले देउवालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन् ।

सभापति शेरबहादुर देउवा स्वदेश फर्कँदा स्वागतमा देखिएको स्वस्फूर्त उपस्थिति, राष्ट्रिय भेलामा आम नेता कार्यकर्ताकाे उपस्थिति र देउवा सभापतित्वकाे सर्वस्विकार्यता देखिएपछि नेपाली काङ्ग्रेसको एकताको बाधक काे रहेछ भन्ने प्रष्ट भएको छ । नेपाली काङ्ग्रेस फुटाउन चाहेको कसले रहेछ भनी राख्नु नपर्ने भएको छ । नेपाली काङ्ग्रेसको १४ आ‍ैँ महाधिवेशनबाट निर्वाचित महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको पद, भूमिका र महत्वाकांक्षाकाे समिक्षा गर्दा ती प्रश्नका उत्तर प्रष्ट भेटिने भएको छ । तसर्थ, गगन थापा र विश्वप्रकाश शर्माको महामन्त्री पददेखि विशेष अधिवेशन मार्फत सभापति बन्ने महत्वाकांक्षा सम्मकाे राजनीतिक यात्रालाई अब बुँदागत रूपमा हेराैँ  :-

१) नेपाली कांग्रेसको विधान र संगठन संरचना अनुसार महामन्त्रीकाे पद केवल प्रशासनिक जिम्मेवारी मात्रै होइन । पार्टीको वैचारिक दिशानिर्देश, संगठनात्मक अनुशासन र राजनीतिक कार्यदिशा निर्धारण गर्ने केन्द्रिय अभिभारा सहितको महामन्त्री पद आफैंमा संस्थापन हाे । तर, गगन थापा र विश्वप्रकाश दुवैले महामन्त्री वा संस्थापन पक्षको जिम्मेवारी बोक्ने अभिभावकीय गाम्भीर्यता र उत्तरदायित्व कहिल्यै देखाए कि देखाएनन् ?

२) महामन्त्री पद संस्थापन होइन भने पदाधिकारीको जिम्मेवारी किन स्वीकारेकाे ? अनि हाे भने संस्थापन पक्षको असफलताको नैतिक जिम्मेवारी महामन्त्री द्वयले लिनुपर्छ कि पर्दैन ? तपाईंहरूकाे यही विराेधाभासले गगन-विश्वलाई वैचारिक रूपमा द्वैध र राजनीतिक रूपमा अविश्वसनीय प्रमाणित गरेन र ?

३)  प्रतिपक्षमा रहँदा आलोचना राजनीतिक शक्ति हुन सक्छ तर नेतृत्वमा पुगेपछि त्यही आलोचना समाधानको दृष्टिमा रूपान्तरित हुनुपर्छ ।नेतृत्वमा संस्थापनभित्रै बसेर संस्थापनकै आलोचना गरिरहनु विद्रोह नभएर सुविधाजन्य राजनीति हो । यसले न पार्टी बन्छ, न पार्टी बदल्छ, न त वैकल्पिक नेतृत्व निर्माण नै गर्छ । महामन्त्री द्वयकाे पद र भूमिका बीचको खतरनाक बिच्छेद नै नेपाली कांग्रेसको वर्तमान संकटको एक मूल कारण थियो र रहेछ भन्ने चुनावी परिणामले प्रमाणित गर्याे कि गरेन ?

४) १४ आ‍ैँ महाधिवेशनबाट निर्वाचित महामन्त्रीहरू सामाजिक सञ्जालमा स्टाटस लेखेर , मिडियामा उत्ताउलो अन्तर्वार्ता दिएर, मञ्चमा उत्तेजित भाषण गरेर र प्रतिक्रियामा आधारित लाेकप्रियता केन्द्रित राजनीतिमा सीमित हुँदा पार्टीले  संगठनात्मक र संरचनात्मक सुधार ल्याउन नसकेको तीतो सत्य सावित भयो कि भएन ?

५) आफ्नो जिम्मेवारी भन्दा व्यक्तिगत  लोकप्रियतालाई उच्च प्राथमिकतामा राख्ने तपाईंहरूकाे कार्यशैलीले पार्टीभित्र र बाहिर डरलाग्दो दुईवटा सन्देश प्रवाह गर्याे । एकातर्फ, जिम्मेवारी लिएपछि आलोचक बनिरहेमा आफूचाहिँ  उम्किन सकिन्छ भन्ने गलत भाष्य स्थापित भयो । अर्कोतर्फ, परिणाममुखी काम गरेर संस्थागत सफलता हासिल गर्नुभन्दा भाषणकाे लाेकप्रियताबाट व्यक्तिगत ब्रान्ड ठूलो बनाउने हाेडबाजी । पार्टीभित्र जल्दाेबल्दाे युवा नेताकै छवि रहेको तपाईंहरूकाे महामन्त्रीकाे पफमेन्स परिणाममुखी र निकास उन्मुख नहुँदा नयाँहरूले तपाईंहरूकाे राजनीतिलाई रक्षात्मक अवस्थामा धकेलेपछि अस्तित्व जाेगाउन कठिन भएको वास्तविकता हैन र ? महामन्त्रीमा त विफल तपाईंहरू सभापति र उपसभापतिमा चुनावी परिणाम र पार्टी एकताको सवालमा अभिभावकिय भूमिकाबाट स्थापित र सफल हुन सक्नुभयाे कि सक्नुभएन  ?

६) पदीय जिम्मेवारी र मर्यादामा महामन्त्री हुने अनि सार्वजनिक खपतका लागि “हामीले चाहेर पनि केही गर्न सकेनौँ !” भन्ने तर्क राजनीतिक रूपले हाँस्यास्पद, लज्जास्पद र कायरता हाे । फेरि केही गर्न नसकेको थाेरै अवधि पनि हैन, चार/चार वर्षकाे कार्यकाल हाे ।अनि तपाईंहरूले चाहँदा चाहिँ चुनावी परिणाम के भयो भनिराख्नुपर्छ ? जिम्मेवारी लिएपछि कि परिणामको जिम्मा लिनुपर्छ कि मार्गप्रशस्त गर्नुपर्ने तथ्य तपाईंहरूले बुझेकाे लाेकतान्त्रिक मान्यता भित्र पर्छ कि पर्दैन ?

७) नेपाली काङ्ग्रेसलाई बलियो बनाउन विरोध, आलोचना र विद्रोह होइन विधि र विधानको सफल कार्यान्वयन चाहिएको हाे । यदि गगन थापा र विश्वप्रकाश शर्मा साँच्चिकै परिवर्तन चाहन्थे भने आलोचकको भूमिकाबाट बाहिर निस्केर जिम्मेवारीको कठिन बाटो रोज्थे । “विष पिउन तयार छाैँ तर पार्टी कुनैपनि हालतमा फुटाउँदैनाैँ” भनी भाषणमा डिङ हाँक्ने तपाईंहरूकाे भित्री याेजना के थियोे र रहेछ ? अब सबैले थाहा पाए कि पाएनन्  ?

८) १४ आ‍ैँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाले कस्ता महामन्त्रीहरूलाई सारथी बनाएर आफ्नो कार्यकाल बिताउनु परेकाे रहेछ भन्ने तथ्य भाेग्नेहरूलाई मात्रै हैन अब देख्नेहरूले समेत छर्लङ्गै थाहा पाए कि पाएनन् ?

९) आन्दोलन भनेको के हाे ? आन्दोलनको स्वरूप कस्तो हुन्छ ? आन्दोलनमा नेतृत्व र एजेन्डाकाे वैधता के हुन्छ ? भन्ने नेपाली कांग्रेसको गर्विलाे इतिहास बिर्सिएर जेन्जी  घटनालाई आन्दोलनको वैधता दिने महामन्त्रीज्यूहरूकाे हतारो र साेही घटनाकाे दाेषमा सभापतिलाई करार गरेर प्रक्रिया बिना नै सभापति बन्ने तपाईंहरूकाे च्याँखे दाउ नेपाल र नेपाली जनताले नबुझेका छन् भन्ने ठान्नुभएकाे छ ?

१०) देउवाले विधानत: अब म सभापति बन्दिन भनेकाे अवस्थामा  सभापतिकाे मर्यादित बहिर्गमन पनि उत्तिकै आवश्यक र  महत्त्वपूर्ण थियोे कि थिएन ? नियमित महाधिवेशनको बाँकी केही महिना धैर्य गर्न तपाईंहरूलाई के ले राेकेकाे थियो ? के बुझ्नाेस् भने, तपाईंहरूले सभापतिप्रति  निर्माण गरेको पहिलो भाष्य नै कुण्ठा, पुर्वाग्रह र प्रतिशाेधपूर्ण थियो र छ ।  पार्टीको सभापति असफल भए एउटै कार्यकालमा उही सभापतिका दुई सहयोगी महामन्त्रीहरू चाहिँ कसरी सफल हुन सक्छन ? कांग्रेसजन र देश-दुनियाँ मूर्ख छन् भन्ने ठान्नुभएकाे छ ?

११) तत्कालीन महामन्त्रीकाे हैसियतबाट हेर्दा तपाईंहरू नेपाली राजनीतिमा तुलनात्मक सुझबुझ राख्ने नेता मध्येमै पर्नुहुन्थ्याे तर के भ्रममा नपर्नुहाेस् भने डेलिभरीको कुरा गर्दा तपाईंहरूका नीति/कार्यक्रम अझै एनजिओका रिपोर्टबाट कपी-पेस्ट गरे जस्ता छन् । सभापतिले गरेको चुनावी गठबन्धन गलत थियो भने त्यसको स्ट्याण्ड कहिले लिइयो र लिने हाे ? यी र यस्ता दर्जनौं विषयहरूमा तपाईहरूलाई “डार्लिंङ नेता” का रूपमा ब्रान्डिङ गर्न घुँडा धस्तै गरेको नेपाली मिडियाले त प्रश्न सोध्ने कुरै भएन । तथापि आम नागरिकका मनमा भएका यस्ता अनेकौं प्रश्नको इमानदार उत्तर बिना तपाईंहरूकाे आगामी राजनीतिक यात्रा अब त्यति सहज र सजिलो नहोला । आफूले गरेको गल्ती जति सबै बाध्यता हाे भन्ने तपाईंहरूकाे तर्कपछि देउवाले पनि आफूलाई बाध्यता पर्याे भन्न मिल्ने कि नमिल्ने ?

१२) देउवाले गरेको चुनावी गठबन्धनबाट स्थानीय, प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभामा कांग्रेस पहिलो पार्टी बनाउँदा परिणाम चाहिँ  स्वीकार्ने अनि प्रक्रियामा देउवा एक्लैलाई मात्र दाेष दिने ! तपाईंहरूले स्थापित गर्न खाेज्नुभएकाे कस्तो राजनीतिक संस्कृति, नैतिकता र इमानदारिता हाे ?
भ्रममा नपर्नुहाेस् ,  तपाईंहरूकाे माछा देख्याे दुलाभित्र हात, सर्प देख्याे दुला बाहिर हात गर्ने चिन्तन, चरित्र र प्रवृत्तिले नै तपाईंहरूकाे राजनीतिक अयाेग्यता, असफलता  र असक्षमता  प्रमाणित भएको हाे  ।

१३) जुन महाधिवेशनले गगन–विश्वलाई महामन्त्री बनायो, त्यही महाधिवेशनले देउवालाई सभापति बनाएको हो कि हैन ? महामन्त्री चयन ठीक, सभापति चयन चाहिँ बेठीक ? यो तर्क लाेकतान्त्रिक तर्कभित्र पर्थ्याे कि पर्दैनथ्याे ?

१४) पार्टीको नीति र नेतृत्व बदल्न विशेष अधिवेशन आवश्यक थियो भने, केन्द्रीय समितिबाट मिति पारित गराउन सक्नुपर्थ्यो कि पर्थेन ? हुन त तपाईंहरू राजनीतिमा झुट बाेलेरै आउनुभयो, झुटबाटै हुर्किनुभयाे र झुटमै स्थापित हुनुभयाे तर पनि कम्तिमा यति त इमानदार भएर स्वीकार्नुहाेस् नियमित अधिवेशनकाे पहिलो मिति तपाईंहरूकै उपस्थितिमा केन्द्रीय समितिले ताेकेकाे हाे कि हैन ?  फेरि फागुन २१ काे चुनावी मितिकाे दबाबले नियमित अधिवेशनकाे मिति बैशाखमा तपाईंहरूकै उपस्थितिकाे केन्द्रीय समितिले नै सारेकाे हाे कि हैन ? अनि कहाँबाट घुसाउनुभयाे विशेष अधिवेशन, भन्नुपर्छ ?

१५)नेपाली कांग्रेसको विधि-विधान र राजनीतिक संस्कार भन्दा दुई महामन्त्री (तपाईं) हरूलाई मिडिया, अवसरवादी बौद्धिक र आइएनजिओको उक्साहटले बहकाएकाे छ, यसरी नबहकिनाेस्  राजनीतिकाे विकल्प राजनीति नै हाे अराजकता र अराजनीति हैन । नेपाली काङ्ग्रेसको समस्याको निकास पुरानो राेगकाे नयाँ भेरियण्ट झैँ तपाईंहरू र तपाईंहरूले प्रदर्शन गरेको भृकुटीमण्डपकाे भद्दा अराजनीति चाहिँ हुँदै-हैन ।

१६) जेन्जी घटना आफ्नो स्वार्थका लागि आफ्नै सभापतिकाे विरूद्ध प्रयाेग गर्ने तपाईंहरू ? काेलियसन गभरमेन्टमा सभापति दाेषि भए महामन्त्रिहरू दाेषि हुन्छन् कि हुन्नन ?(तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष आ‍ेली त अझै उहीँ हैसियतमा छन् ।)  फागुन २१ काे चुनावी नतिजाको भ्रम र भय सिर्जना गरी भावनात्मक मनोविज्ञानको जगमा निर्वाचित सभापतिलाई जबर्जस्त अपदस्त गरी थप राजनीतिक शक्ति आर्जन गर्न लाग्ने तपाईंहरू ? चुनाव हार्ने तपाईंहरू अनि दाेषि चाहिँ देउवा ? अलिकति पनि लाज लाग्दैन ? हाे, अलिकति धैर्यता गरेर चुनावी पराजय शेरबहादुर कै नेतृत्वमा भएको भए आज तपाईंहरू बलियो हुनुहुन्थ्यो कि हुनुहुन्नथ्याे ?

१७) तपाईंहरूको नेतृत्वप्रतिको आकांक्षा जनविश्वासको स्वाभाविक स्वीकृति थियो वा लोकप्रियताको मनोगत प्रभाव ? समय अगावै सिर्जित नेतृत्वको चरम महत्वाकांक्षा रहेछ छ भनेर पुष्टि भयो कि भएन ?

१८) एउटा प्रतिनिधि सभा विघटनको मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन हुँदाहुँदै अर्को प्रतिनिधि सभााकाे निर्वाचनमा भाग लिने तपाईंहरूकाे हतारो सम्मानित सर्वाेच्च अदालतको नजिर, संवैधानिक सर्वाेच्चता र विधिको शासनले मिल्थ्याे कि मिल्दैनथ्याे ? कांग्रेसको प्राथमिकता संवैधानिक सिद्धान्त हाेकि अन्तिम समयमा विशेष अधिवेशनकाे नाटक गरेेर बन्ने उधारो प्रधानमन्त्रीकाे सपना थियोे  ?  तपाईंहरूकाे महत्वाकांक्षामा नेपाली कांग्रेसका लाखौं कार्यकर्ता र शुभेच्छुकहरूले फागुन २१ एउटा राजनीतिक उत्सवभन्दा पनि पतन्नाेमुख ‍‍अभ्यासकाे रूपमा व्यहाेर्नु पर्याे कि परेन ?

१९) लोकतन्त्रमा डिजिटल लोकप्रियता र राजनीतिक वैधतालाई एउटै ठान्नु तपाईंहरूको सबैभन्दा ठूलो भ्रम थियो । सामाजिक सञ्जालले दृश्यता (visibility) दिन सक्छ तर वैधता (legitimacy) दिँदैन । ट्रेन्ड र ट्रस्ट बीचको यही अन्तर बुझ्न नसक्ने नेतृत्व प्रायः आफ्नै लोकप्रियताको प्रतिध्वनिमा अल्मलिन्छ र सकिन्छ । तपाईंहरूले यहि मनाेवैज्ञानिक भ्रमको मूल्य चुकाउनु भयाे कि भएन ?

२०) नेपाली कांग्रेस आफ्नो  इतिहासकै सबैभन्दा कठिन, जटिल र अन्योलपूर्ण अवस्थामा पुगेको, पार्टीमा सिद्धान्त र विचार कमजाेर भएको, गुटहरूको प्रभाव दिन प्रतिदिन बढ्दै गएको, युवा र अनुभवी पुस्ताबीच विश्वासको दूरी बढेको,जनतामा कांग्रेसप्रतिको वैचारिक र भावनात्मक आकर्षण क्रमशः खस्किएकाे अवस्थामा तपाईंहरूको राजनीतिक सान्दर्भिकता कमजोर हुन्छ कि बलियो ?

२१) यदि तपाईंहरू साँच्चै कांग्रेसलाई बलियो बनाउन चाहनुहुन्छ भने आफ्नो नेतृत्वलाई पार्टीभन्दा माथि होइन, पार्टीको भविष्यलाई आफ्ना व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि राख्नुस् । लाेकतन्त्रमा व्यक्तिको उदय र  विजय क्षणिक हुन्छ  तर सिङ्गो पार्टीको विजय ऐतिहासिक हुन्छ । नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ संगठनात्मक कार्यशैली, गुटविहीन राजनीतिक संस्कार, कार्यकर्ताको विश्वास र सम्मान स्थापित गर्नसक्ने विचार र व्यवहारबीचको दूरी घटाउने नयाँ नेतृत्व चाहिएको छ यदि त्यो परिवर्तनको नेतृत्व तपाईंहरूले गर्न सक्नुहुन्छ भने आँट गर्नाेस् । यदि  त्याे सम्भव नभए उदारतापूर्वक मार्गप्रशस्त गर्दै  एकपटक नेतृत्वको ब्रिजिङ गर्नुहाेस् ।

२२) श्रावण २९ काे राष्ट्रिय भेलासँगै कांग्रेसभित्र तत्कालीन विशेष महाधिवेशनको, नेतृत्व परिवर्तन र चुनावी सहभागीता संयोग मात्र रहेनछन्न भन्ने पुष्टि भइसकेकाेले यसकाे अन्तरनिहित मर्म बुझ्नाेस् । तपाईंहरूकाे राजनीतिक सम्भावना अझै समाप्त भएको छैन । अब तपाईंहरूले आफ्नो राजनीतिक यात्रालाई व्यक्तिगत महत्वाकांक्षाको सीमाभित्र नराखी नेपाली कांग्रेसको पुनर्जागरणसँग जोड्नुहोस् । यतिबेला तपाईंहरूले आफूभन्दा माथि नेपाली काङ्ग्रेसलाई र नेपाली कांग्रेसभन्दा माथि राष्ट्रलाई राख्ने साहस देखाउनुभयो भने त्यो केवल तपाईंहरूको विजय मात्र हुनेछैन त्यो नेपाली कांग्रेसको पुनर्जन्म, लोकताान्त्रिक जनविश्वासको पुनर्स्थापना र नेपाली राजनीतिक संस्कारको लागि एउटा नयाँ र स्वर्ण अध्याय बन्नेछ ।

उल्लेखित बुँदाहरू भनिरहँदा देउवाकालमा नेपाली राजनीतिमा स्थापित विकृतिहरूकाे समर्थन गरेको पनि हैन र गरिने पनि छैन । उनको भागकाे जिम्मेवारी स्वयं उनैले लिनुपर्छ । तर, याे तीन-साँढे तीन दशककाे विसङ्गतिकाे भारी देउवालाई मात्रै बाेकाउनु न्यायाेचित हुनै सक्दैन । याे तीस चालीस वर्षकाे नेपाली राजनीति नेपाली समाजकै सामुहिक असफलता हाे । धेरै थाेर याे असफलताको भागिदार हामी सबै हाे । नेपाली काङ्ग्रेसका महामन्त्री द्धय पनि यहि राजनीतिक असफलता र विसङ्गतिकाे भ‍र्याङ चढेरै माथि पुगेका हुन् । दुई महामन्त्रीमध्ये गगन थापाले त आफूले आफूलाई दुधले स्नान गरेजस्तो गर्नु बेक्कार छ । घैँटेकाे समर्थनमा गगनकाे अभिव्यक्ति के थिए ? स्वास्थ्यमन्त्री हुँदाकाे नियुक्ति मापदण्ड के थियो ? राम्रो कि हाम्रो  भनिराख्नुपर्छ ? बहुचर्चित MCC परियोजनाको बहसमा उनि माथि लागेको आराेप हाे या उनी चुकेकाे ? विशेष महाधिवेशनको अन्तर्य के थियो ? लगायतका दर्जनौं विषय केलाउँदा उनको राजनीतिक उचाइमा माैलिकता भन्दा प्रायाेजित धारणाा बढी हावी भएको देखिन्छ । विशेष अधिवेशनमा उनले देखाएको अपरिपक्वता र गैरजिम्मेवारीपनले उनको नेतृत्व परिपक्वतामा दर्जनाैँ प्रश्नहरू तेर्सिएका छन् । देउवाकाे स्वागतमा उर्लिएकाे भिड अहिलेको सरकारकाे मात्रै हैन गगन प्रतिकाे समेत अविश्वासको संकेत हाे । अब गगन / विश्वले आफ्नो गल्ती स्विकारेर नेपाली काङ्ग्रेसलाई फुटबाट जाेगाउँदा उनीहरूको राजनीतिक उचाइ बढ्छ , घट्दैन । नत्र , बामपन्थीहरूकाे जसरी अनेकन तिकडम गरेर पार्टी कब्जा गरेर काङ्ग्रेसकाे नेता बन्न सजिलो छैन ।

नेपाली जनताको राजनीतिक मनाेविज्ञान र सामाजिक चेतना कसरी चलेको छ भन्नेमा धेरै अचम्म नमानाैँ । अचम्म त के मा मानाैँ भने, शेरवहादुर देउवा, केपी आ‍ेली र प्रचण्डकाे प्रत्यक्ष वा अप्रत्यक्ष आलाेपालाे नेतृत्वले समाजलाई याे तहकाे वितृष्णा र निराशामा पुर्याउन तीस वर्ष लगायाे तर रास्वपा सरकारबाट जनता र गगन नेतृत्वबाट काङ्ग्रेस तीन महिनामै याे तहको  निराशमा कसरी बन्न पुग्याे भन्ने हाे ।

गगन नेतृत्वकाे काङ्ग्रेस र रास्वपा के हाे ? अहिलेकाे संसद कस्ताे हाे ? सांसद कस्ता हुन् ? उनिहरूकाे राजनीतिक गुरूत्व के हाे ? राजनीतिक माेटीभेसन के हाे ? यिनिहरूले निकाल्न सक्ने उच्चतम राजनीतिक परिणाम कस्ताे हाे ? राजनीतिक संस्कार कति हाे ? राज्यप्रणालीकाे मर्यादा बुझेको कति हाे ? भूराजनीतिमा कति संवेदनशील छन् ? भन्ने तीन/चार महिनामै छताछुल्ल भयो । मुलपर्दा खुलिसक्याे बाँकी खुल्दै छ । अब नेपाली जनताले के बुझ्न जरुरी छ भने पार्टी, नेता र राज्यप्रणाली सुध्रिने अपेक्षा राख्नुभन्दा पहिला नेपाली समाजकाे चेत सहि ठाउँमा आउन जरुरी छ नभए समाजले दुख पाउँछ र पाइराख्छ । राजनीति भनेको कुनै रमाइलो, उमङ्ग, प्रयोग र लाेकप्रियताकाे विषय हैन । अब नेपाली समाजले आँखा खाेल्ने समय आएको छ ।

अन्तमा, शेर बहादुर देउवाको स्वागतमा एयरपोर्टमा देखिएको उपस्थितिकाे सन्देश पुरानै नेता र पुरानै प्रवृत्तिको स्वागत भन्दापनि रास्वपा सरकार र प्रमुख प्रतिपक्षकाे हैसियतमा गगन थापा नेतृत्वको काङ्ग्रेसको तिरस्कार हाे । मूलतः सरकार पक्ष र प्रमुख प्रतिपक्ष दुबैकाे गैरजिम्मेवारपन, अपरिपक्वता, अराजकता, उदण्डता र राज्यप्रणालीसँग भएको अमर्यादितपनबाट नेपाली समाज गम्भीर हुन जरुरी छ । रास्वपा सरकार र गगन नेतृत्वको काङ्ग्रेसको शैली के बिम्बसँग मिल्छ भने गाउँमा बाऊकाे पालामा जेनतेन ऐँचाेपैँचाे गरेर, खेताला लगाएर  खेती गरेर बाऊले अन्न भित्र्याउँथ्याे तर बाऊकाे दारू खाने बानीले गर्दा बाऊले परिवारकाे आँखा छलेर २/४ मुरी धान पनि खलाबाटै गायब गर्थ्याे । बाऊकाे त्यो बानी थाहा पाएर छाेराहरूले बाऊबाट खेतीकाे ज्ञान नै नलिई बाऊलाई घाेक्रेठ्याक लगाए र खेती त थाले तर कहिले बिउ राख्ने ? कुन खेतमा बिउ राख्ने ?  कुन धानको बिउ कहिले र कहाँ राेप्ने ? कहिले गाेडमेल गर्ने ? कहिले पानी काट्ने ? जस्ता आधारभूत कुरा थाहा नपाउँदा धान भन्दा पराल  उब्जनी भएको जस्तो अवस्था भयाे । समयमै चेतना भया:

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी