नयाँदिल्ली असोज २१ । हत्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् । भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए र उनका बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो ।
दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा उनको मृत्यु भएको प्रहरीले मंगलबार बिहान जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
जोरा प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जनाएको छ । उनीविरुद्ध धेरै मुद्दाहरू थिए, जसमा मे २०२४ मा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरी पनि समावेश थियो ।
गुडगाउँका प्रहरी उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा भएको सोमबारको कारबाहीका क्रममा जोराले गोली चलाएको र इन्स्पेक्टर नरेन्द्र शर्मा जोगिन सफल भएको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरी नजिक पुग्दा जोराले गोली चलाएको र जवाफी कारबाहीमा उनी गम्भीर घाइते भएको प्रहरी दावी छ । उनलाई तत्काल एम्स ट्रमा सेन्टर लगिएको थियो, जहाँ उनी मृत घोषित भए । उनीसँग भएका एक सहयोगी भने भाग्न सफल भएका छन् ।