काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै बोलाएर भारतको उत्तराखण्ड प्रदेशस्थित उद्यमसिंह नगरमा बन्धक बनाइएका ३५ नेपालीलाई उद्धार गरिएको छ । दिल्लीस्थित सामाजिक संस्था ‘किन इन्डिया’ को टोलीले स्थानीय प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरेको हो ।
‘किन इन्डिया’ का प्रमुख नवीन जोशीका अनुसार उद्यमसिंह नगर जिल्लाको काशीपुरबाट उद्धार गरिएकाहरू १६ देखि ४१ वर्षसम्मका छन् । उनीहरू दुई सातादेखि १० महिनासम्म बन्धक बनाइएका थिए । उनीहरू ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, सुनसरी, उदयपुर, सर्लाही, दाङ, स्याङ्जा, रुकुम, बाँके, बागलुङ र डोटी जिल्लाका छन् । कुटपिट गरिएका कारण उनीहरूको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ ।
हिन्दुस्तान दैनिकका अनुसार ३५ नेपाली युवालाई कुटपिट गरेर र डरधम्की देखाएर तीनवटा कोठामा राखिएको थियो । उद्यमसिंह नगरका जिल्ला पुलिस अधीक्षक ९एसपी० उत्तमसिंह नेगीले नेपाली नागरिकलाई बन्धक बनाएर राखिएको सूचना आएपछि उद्धार गरिएको बताए । यस आपराधिक कार्यमा नेपाली नागरिककै संलग्नता देखिएको समेत उनले बताए । ‘हामीले केहीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ कान्तिपुरसँग उनले भने । उद्यमसिंह नगर प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार त्यस घटनामा संलग्न देखिएका धनगढीका वीरेन्द्र शाही र अन्य दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
रोजगारीको प्रलोभन दिएर नेपालबाट बोलाउने र पैसा असुल गरेपछि यातना दिएर राख्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ‘किन इन्डिया’ का प्रमुख जोशीका अनुसार नेपालीलाई नै प्रयोग गरेर नेपालमा रहेका आफन्त तथा चिनेजानेका मानिसलाई आकर्षक आम्दानी हुने जागिर पाइने भन्दै उत्तराखण्ड बोलाउने गरेको देखिएको छ । भारत आइसकेपछि कागजात बनाउने नाममा २० देखि ५० हजार भारुसम्म उनीहरूबाट असुल गरिन्छ ।