एनआरएनको ‘बृहत् एकताʼ संवाद सम्पन्न, अक्टोबरमा महाधिवेशन गर्न सुझाव

एनआरएनको ‘बृहत् एकताʼ संवाद सम्पन्न, अक्टोबरमा महाधिवेशन गर्न सुझाव

  • बुधबार, फाल्गुन २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिएका छन् ।

संघमा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गर्दै उहाँहरुले सबै पक्षबाट हदैसम्मको लचकता अपनाई अघि बढ्न सुझाएका हुन् । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मे महिनामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपनि महाधिवेशनको प्राविधिक तयारीका लागि समय लाग्ने भन्दै अक्टोबरमा गर्नुपर्ने सुझाव अभियन्ता तथा संस्थापकहरूले दिएका हुन् । राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाईमा मात्रै सम्पन्न हुने र सो सम्पन्न नभई महाधिवेशन सम्भव नहुने तर्क अभियन्ताहरुको थियो ।

गैर आवासीय नेपाली संघद्वारा मंगलबार (११ मार्च २०२५ ) भर्चुएल माध्यमबाट आयोजित बृहत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरुबीच भाइचारा बढाउन यो संस्थाको स्थापना गरिएको स्मरण गराउँदै सबैलाई हठ त्यागेर लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडी बढ्न आग्रह गरे । उनले भने, ‘उच्चस्तरीय समितिले चुनावको लागि मात्रै चुनाव गराउने नभई छातीमा हात राखेर काम गर्नुपर्छ ।ʼ वास्तविक एकताको महाधिवेशनमा मात्रै आफु सहभागी हुने बताउँदै नेपालको समृद्धिको अभियानमा आफ्नो सधैं साथ हुने उनले स्पष्ट पारे ।

एनआरएनएका पूर्व अध्यक्ष जीबा लामिछानेले २०२३–२५ का लागि निर्वाचित डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिँदै गत साता परराष्ट्र मन्त्री डा आरजु देउवाले समन्वयकारी भूमिका खेलेको भन्दै सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानु पर्ने बताए । उनले बद्री केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिनपर्नेमा सबै एकमत हुनुपर्ने सुझाव दिए । “नेपालमा शान्ति प्रक्रिया ल्याइयो । संसद पुनस्र्थापना गर्ने भन्ने कहीं पनि लेखिएको थिएन , द्वन्द्वरत पक्षलाई संसदमा राख्ने कुरा लेखेको थिएन। तर त्यो सम्भव भयो। त्यस्तै हामीले पनि एकता गरेर अगाडी जान सक्छौं,“ उनले भने । उनले संस्थाको गुमेको साख फर्काउन अझै पनि सम्भव रहेको उल्लेख गरे ।

एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्तले पछिल्लो परिस्थितिमा संयम भई बुद्धिमानीपूर्वक अघि बढ्न आग्रह गरे । उनले उच्चस्तरीय समिति एकताबद्ध बन्यो भने मात्रै सबैको इज्जत हुने बताउँदै प्राविधिक कुरामा मात्रै नअल्झिन सुझाए । “मनभित्र एकताको भावना राख्ने हो भने समस्या समाधान गर्न सकिन्छ । तपाईंहरु सबैले एउटा सुझाव दिनोस्। उच्चस्तरीय समितिमा निर्वाचन पर सार्न हामीले कुरा राख्छौँ,हामीले जुन – जुलाईमा चुनाव गर्छौं भन्यौं भने अदालतले, परराष्ट्रले नगर्नोस् भन्दैन। उच्चस्तरीय समितिले निर्वाचनको काम गर्छ, अहिलेको कार्यसमितिलाई आफ्नो काम गर्न दिनोस्,“ उनले भने ।

एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउँदै आफ्नो व्यक्तिगत हित भन्दा संस्थाको हितलाई माथि राख्न आग्रह गरे ।

“सम्मानित अदालतलाई हामीले मान्नै पर्छ। परराष्ट्र मंत्रीले दिएको विकल्पमा जाउँ,” उनले भने । एनआरएनएका संस्थापक सचिव भिम उदासले प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान पनि तयार हुनुपर्ने आवश्यकतामा जोड दिए । उनले एकताको सन्देश अन्तरवार्तामा हैन, व्यवहारमा देखाउनु पर्ने बताए ।

एनआरएनएका अध्यक्ष डा बद्री केसीले २००३ मा नेपालको समृद्धिको लागि विदेशमा रहेका नेपालीहरुलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको उल्लेख गरे । आफूले जहिलेपनि कानूनतः काम गरेको र आगामी दिनमापनि वैधानिक रुपमै आफूले अघि बढ्ने उनको भनाई थियो । “सर्वोच्चको दोश्रो फैसलाले विवेचनामा हरेक अधिवेशन सार्वभौम हुन्छन भन्यो, हामी सधै एकताको लागि लचक छौं। सर्वोच्च अदालतको दुइओटै फैसलाको सम्मान गरेर जाउँ। उच्चस्तरीय समितिले अनुगमन गरोस् हामी तयार छौँ । ११ औं कार्य समितिको वैधतामाथि कुनै प्रश्न छैन। निष्पक्ष चुनाव गर्न हामी तयार छौँ” उनले भने ।

कार्यक्रममा एनसीसीका अध्यक्षहरुले यही मे महिनामा भ्याउने गरी अधिवेशन गर्न सम्भव नभएको स्पष्ट पारे । उनीहरुले आपसी सहमतिले केन्द्रमा महाधिवेशनको मिति पर सारे पनि आफुहरुलाई मान्य हुने बताउँदै उच्चस्तरीय समितिका १३ जना सदस्य एकै ठाउँमा बसेर संवादद्वारा अहिलेको समस्यालाई निकास दिन आग्रह पनि गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी