काठमाडौं, २२ वैशाख । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–७ मा रहेको घना शैलुङ जंगलमा लागेको डढेलो आझै नियन्त्रणका आउन सकेको छैन । यही मंगलबार अपरान्ह ४ बजेतिर डोरखानीस्थित एक स्थानीय महिलाले आफ्नो बारीमा सोतर जलाउँदा फैलिएको भनिएको आगो भोलिपल्ट दिउँसो घना जंगलमा प्रवेश भएकोमा पाँचौं दिन आज शनिबार पनि भीषण लागिरहेको छ ।
आगो निभाउन दोरम्बा ब्यारेकबाट दर्जनको संख्यामा नेपाली सेनाको टोली बतासे र लोङा क्षेत्रमा पुगेर आगो निभाउने कोशिस गरेपनि उपयुक्त यन्त्रको अभावमा सफल हुन सकेन । सेना केही समय आगो दन्किरहेको घटना हेरेर फिर्ता भए ।
आगलागी क्षेत्रमा दमकल पुग्ने अवस्था नरहेको र निभाउन अन्य विकल्प पनि नभएपछि उनीहरु फिर्ता भएका थिए । उनीहरु सीडीओ अनिता निरौलाको निर्देशनमा त्यहाँ पुगेका थिए । उनीहरुलाई पालिकाको गाडी चढाएर पुर्याइएको थियो ।
सोही दिन पालिका अध्यक्ष मैनकुमार मोक्तान ‘मदन’ सो वडाका एक कार्यक्रममा सहभागी भएर आगलागी क्षेत्रमा नपुगी फर्केका थिए । आगलागी क्षेत्र उनको घरदेखि झण्डै बाह/तेह्र्र सय मिटर माथिको दूरीमा पर्छ । तर उनी नियन्त्रणबारे ठोस पहलबारे छलफल नै नगरी पालिका फर्किए । आज पाँचौ दिन बित्दा डढेलोको रुप भीषण नै छ । नियन्त्रणमा आउन सक्ने कुनै छाँट देखिएको छैन । घना जंगल सखाप हुने निश्चितप्रायः छ ।
यसबारे पालिका अध्यक्ष मोक्तानसँग मिर्मिरे अनलाइनले टेलिफोन कुराकानी गरेको थियो । जवाफमा उनले शैलुङ जंगलको जारी डढेलो नियन्त्रण संभव नरहेको बताए । अहिले बस्ती जोगाउने र मानवीय क्षति हुन नदिने विषयबाहेक अन्य नसोचेको उनको भनाइ छ । डढेलोको अवस्था भयावह रहेको उनले स्वीकारे ।
‘शैलुङ जंगलको आगो नियन्त्रण अहिले संभव छैन’ अध्यक्ष मोक्तानले भने– ‘मानवीय क्षति हुन नदिने र बस्ती जोगाउने विषयलाई प्राथमिकतामा राखेका छौं ।’ उनले हाल बस्ती जोखिममा नरहेको समेत बताए ।
आगो नियन्त्रणमा लिने उपायबारे राखिएको जिज्ञासामा उनले स्थलबाट आगो नियन्त्रण संभव नरहेको र हेलिकोप्टरबाट पानी खन्याउन स्रोत नभएको बताए । जिल्लाले पनि स्रोत नभएको बताएकाले नियन्त्रणबारे केन्द्र सरकारले सोचिरहेको हुन सक्ने उनको भनाइ छ ।
‘अहिल्यै आगो नियन्त्रणमा लिने संभावना नै छैन । किनभने प्रति घण्टा महंगो मूल्य तिरेर हेलिकोप्टरबाट पानी वर्षाउन सकिँदैन’ उनले भने, ‘नियन्त्रणका लागि आकाशे पानी कुर्नुको कुनै विकल्प छैन ।’ तर उनले कल्पना गरेको आकाशे पानीको संभावना नै झनै देखिँदैन । मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले अहिले पानी पर्ने संकेत कहीकतै नरहेको आजै सार्वजनिक आफ्नो नियमित बुलेटिनमा जनाइसकेको छ ।
डढेलो बस्तीमा लगेका खानेपानी पाइपमा क्षति पुगेपछि परेको खानेपानी समस्याबारे बजेटको व्यवस्था गरेर छिट्टै समस्या हल गर्ने विषयमा आफू लागिरहेको उनले बताए ।
नियन्त्रणका कुनै उपाय नअपनाउने र वर्षा नभएमा जारी डढेलो अझै डेढ हप्ता चल्ने स्थानीयको भनाइ छ । डढेलोबाट सल्किएको आगो निभ्न २ महिना बढी लाग्ने उनीहरुको अनुमान छ । आफूहरुको जीवनधाराको रुपमा रहेको जंगल जलिरहेको देख्दा ठूलो पीडा भएको बताए । राज्य निकम्मा भएको देख्दा दुःख लागेको स्थानीयले बताए ।
ठूलो क्षेत्रफलमा फैलिएको जिल्लाकै ठूलो जंगलमा दशकौंदेखिको मुढा भएकाले पूर्णरुपमा आगो नियन्त्रणमा आउन समय लाग्ने अनुमान उनीहरुले गरेका हुन् । आगलागीबाट थुप्रै वन्यजन्तु समेत नष्ट भएको हुन सक्ने उनीहरुको भनाइ छ । अझै हेलिकोप्टरबाट पानी खन्याउन सके आधाभन्दा बढी जंगल जोगाउन सकिने र सयौं घरधुरीको पानीको स्रोत बचाउन सकिने उनीहरुले बताए । नियन्त्रणमा लिन जिल्ला, प्रदेश र केन्द्र सरकारले तत्काल पहल लिन आग्रह गरे ।