काठमाडौँ । कोरियाको पानी जहाज क्षेत्रमा काम गर्न जान यही वर्ष भाषा परीक्षा दिएर फेल भएका युवाहरुले पनि उत्पादनमुलुक क्षेत्रको भाषा परीक्षा दिन पाउने भएका छन् ।
बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज क्षेत्रको भाषा परीक्षामा फेल भएकाहरुलाई पनि अब हुने उत्पादनमुलुक क्षेत्रको परीक्षामा सहभागी गराउने सहमति भएको हो ।
अब यो परीक्षा तीन चरणमा हुने भएको भने परीक्षा माघको ६ गतेबाट सुरु हुनेछ । रोजगार अनुमति प्रणाली (इपीएस) को परीक्षासम्बन्धी नियममा अदालतको आदेशपछि निम्तिएको विवाद अब टुंगिएको छ । बिभागका महानिर्देशक डण्डुराज घिमिरेले सोमबार बसेको बैठकले भाषा परीक्षासम्बन्धी देखिएको जटिलतालाई टुंगो लगाएको बताए ।
परीक्षामा सहभागी हुन यसवर्ष एक लाख ६४ हजार जनाको आवेदन परेको छ । ‘हामीले तीन चरणमा परिक्षा लिनेछौं । पहिलो चरणमा ४७ हजारको परीक्षा हुनेछ । दोश्रो चरणमा ८० हजार र बाँकीको तेश्रो चरणमा हुनेछ’, उनले भने ।
कोरियाले परीक्षाको लागि चाहिने ट्याप आएपछि परिक्षार्थीको संख्या बढाउँदै लैजानेछ । पहिलो चरणको परीक्षा समाप्त हुनको लागि कम्तिमा ४७ दिन लाग्नेछ ।
गत मंसिर १९ मा कोरियाको पत्रअनुसार विभागले सन् २०२४ का लागि उत्पादनमूलक कामदारका रूपमा लैजान सकिने १५ हजार ८ सय ४८ जना उम्मेदवारको रोस्टर छनोट गर्न भन्दै कोरिया भाषा परीक्षाको आवेदन दिनेको योग्यता तोकेको थियो ।
जसमा फौजदारी अभियोगमा सजाय पाएका, कोरियाबाट निष्कासन भएका, कोरियामा ई–नाइन र ई–टेन भिसामा ५ वर्षभन्दा कम बसेका र सन् २०२३ भित्र कोरियाको भाषा परीक्षामा सामेल भएकाहरू सहभागी हुन नपाउने प्रावधान थियो ।