विराटनगर, २५ भदौ । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवबद्ध समाजवादी मोर्चाले विराटनगरमा आज सन्देश सभा गर्दैछ । कोशी प्रदेशको राजधानी बिराटनगरमा आज हुने कार्यक्रममा चार हजार मान्छे जुटाउने जिम्मा सम्बन्धित दलहरुले लिएका छन् ।
मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देशसभाको समापन पनि विराटनगरमै गर्न लागेको हो । विराटनगरस्थित होटल मनास्लुमा रहने कार्यक्रमलाई चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा प्रदेश अध्यक्ष दिपक याक्खाले बताए ।
कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विराटनगरको सन्देशसभालाई सम्बोधन गर्नेछन् ।
मोर्चाले यस अघि अन्य प्रदेशहरुमा सन्देश सभा गरिसकेको छ ।