काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
छठ पर्व मनाउन घर जाने क्रममा भएको उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। काठमाडौं–सर्लाही रुटमा सञ्चालन हुने मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको सरकारले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको छ।
घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च तथा मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ। यसका लागि सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ।
सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।