काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणलाई लिएर पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन् ।
आइतबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डलाई विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको र दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि नतिजामुखी र व्यवहारिक प्रोजेक्टहरु मात्रै अघि बढाउन सुझाव दिएको परराष्ट्रमन्त्री एनपी साउदले बताए । उनले चीनका चिन्ता चासोहरुलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन विज्ञहरुले सुझाएको बताए ।
छलफलमा पूर्वपरराष्ट्र सचिवहरु, राजदुतहरुलाई आसन्न चीन भ्रमणका सन्दर्भमा सल्लाहका लागि प्रधानमन्त्रीले बोलाएका हुन् ।
विज्ञहरुले दिएको सुझावलाई आफूले महत्वका साथ लिएको प्रधानमन्त्रीले सन्देश दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आईतबार बिहान राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसँग पनि आसन्न विदेश भ्रमणबारे सुझाव लिएका थिए ।