भदौ १६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सत्ताबाट हटाउनेका विरुद्ध लाखौं करोडौं जनताको बीचमा पुगेर आन्दोलनको नेतृत्व गर्ने बताएका छन्।
शनिबार काठमाडौंको चन्द्रागिरि–२ घट्टेडाँडामा ‘जनतासँग माओवादी’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘म ३२ सिटको पार्टीको नेता भएको छु। म कतिदिन प्रधानमन्त्री रहने हो, हुनसक्छ १५ दिन, एक महिना, ३० दिन। जति दिन रहनेछु,’ प्रचण्डले भने, ‘मलाई जसले हटाउनेछन् तिनका विरुद्ध लाखौं करोडौं जनताको बीचमा आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्प सहित काम गरेको छु।’
उनले अहिलेको कामले गर्दा सरकार पाँच वर्ष सम्म टिक्न सक्ने दाबी गरे । उनले यो अभियानले देशभर माओवादीप्रति फेरी जागरण आउने र शक्तिशाली बनेर आउने दावी गरे ।
कार्यक्रममा जनार्दन शर्मा लगायतका नेताले पनि संवोधन गरेका थिए । कार्यक्रममा अन्य दलका स्थानीय कार्यकर्ता समेत माओवादीमा प्रवेश गरेका थिए ।