कास्की भदौ १५ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टहरू एक ठाउँमा हुन जरूरी रहेको बताएका छन् । शुक्रबार पोखरामा समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्री दाहालले समाजवादी मोर्चालाई मोर्चामै सीमित नराखी सबै कम्युनिस्टलाई जोडेर जाने सपना रहेको बताएका हुन् ।
मोर्चा विगतको जस्तो कमजोर नरहेको दाबी गर्दै उनले समाजवादी मोर्चा लामो समयसम्म चल्ने गरी बनाइएको बताए । हतारमा पार्टी एकता हुँदा दुर्घटनामा पुगिएको उल्लेख गर्दै उनले मोर्चा तत्काल पार्टी एकता गर्ने पक्षमा नरहेको पनि बताए ।
सरकारमा सुशासनतर्फ राम्रो काम भएको भन्दै प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन पनि यसतर्फ सकारात्मक रहेको बताए । उनले आफ्नो नेतृत्वमा सरकार बन्दा खस्कँदो अर्थतन्त्रलाई उकास्न मौद्रिक र वितीय नीतिमार्फत संकटलाई समाधान गर्नतर्फ केन्द्रित रहेको बताए । अर्थतन्त्रमा सुधार आए पनि अझै केही समस्या बाँकी रहेको उनको भनाइ थियो ।
भू–माफियाको जगजगी बढी हुँदा ललिता निवासको फाइल खोलिएको उनले बताए । उनले सुन तस्करी सामान्य नरहेको भन्दै यसमा धेरैथरीका मान्छेको संलग्नता रहेको उल्लेख गरे ।
यसै क्रममा उनले ललिता निवास प्रकरणमा माधव कुमार नेपालले सफाई पाईसकेको दावी गर्दै उनले अब कसैले फसाउन नसक्ने दावी गरे ।