प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको धरानमा भइरहेको घटनाप्रति सरकारको गंभीर ध्यानाकर्षण भएको भन्दै सामाजिक सद्भावको पक्षमा उभिन अपील गरेका छन् ।
जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले सो अपिल गरेका हुन्।
‘धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु,’ उनले शनिबार साँझ विज्ञप्तिमार्फत भनेका छन्।
धरानमा केही दिनदेखि भएको जातीय र धार्मिक विवाद बढ्दै गएपछि शनिबार दिनभर निषेधाज्ञा जारी गरिएको थियो।
‘हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ,’ उनले भनेका छन्।
