कांग्रेसले नेता कार्कीको निधनमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

कांग्रेसले नेता कार्कीको निधनमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

  • बिहिबार, भदौ ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौैँ, ७ भदौ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उहाँको उपचारका क्रममा बुधबार निधन भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहनुभएका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

बैठकले स्व नेता कार्कीप्रति सम्मान प्रकट गर्दै भदौ ८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने पनि निर्णय गरेको छ ।

श्रद्धाञ्जली अर्पण गर्न आज बिहान पार्टीको केन्द्रीय कार्यालय प्राङ्गणमा उहाँको शव राखिएको थियो । नेता कार्कीको शवमा आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

विसं २०१४ वैशाख २९ गते जन्मनुभएका स्व कार्कीले कांग्रेसको सङ्गठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले उल्लेख गरेको छ । उहाँकोे निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै बैठकले स्व। कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकमा नेता स्व। कार्कीको आत्माको चीर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गरिएको थियो । कांग्रेसले यस दुःखको घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनमा धैर्य धारण गर्नसक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै समवेदना प्रकट गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ