सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा सिआईबीलाई, राजस्वले बुझायो सबै प्रमाण र तथ्य

सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा सिआईबीलाई, राजस्वले बुझायो सबै प्रमाण र तथ्य

  • आइतवार, साउन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, २१ साउन । सुन तस्करी प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गर्ने भएको छ । राजस्व अनुसन्धान विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरि विभागले सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले हालसम्म खुलेका प्रमाणले संगठितरुपमा गरिएको अन्तरदेशीय अपराध देखिएकाले बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिमार्फत गर्नुपर्ने भएर प्रहरीलाई जिम्मा दिइएको बताए ।

पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गर्न जाँदैछ । त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनेछ

विभागका मात्र अनुसन्धान फितलो हुनसक्ने भन्दै कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी र राजस्वका उच्च अधिकारीहरुसँग बैठक गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिएका थिए । प्रधानमन्त्रीले गत साता निर्देशन दिएपछि विभागले आइतबार सम्पूर्ण फाइलहरु बुझाएको हो ।

सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने निष्कर्षसहित सरकारले संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको हो । सीआईबीमा वित्तीय र संगठित अपराध हेर्ने छुट्टै युनिट छन् ।

अब प्रहरीले विशेष ब्युरो, साइबर ब्युरो र अन्य युनिटका विशेष टोलीलाई पनि अनुसन्धानमा खटाइने तयारी गरेको छ । हङकङबाट गत असार २९ मा क्याथे प्यासिफिकको जहाजमा स्कुटरका ब्रेक सुभित्र लुकाएर ल्याइएका सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी बाहिरिएको थियो । त्यसलगत्तै विभाग र सशस्त्र प्रहरी बल (एपीएफ) को विशेष टोलीले भन्सारबाहिर सिनामंगल सडकबाट ब्रेक सुभित्र लुकाइएको सय किलो सुनसहित दुई जनालाई पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा तस्करीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता खुलेपछि अनुसन्धान जटिल बन्दै गएको थियो ।

अनुसन्धान जिम्मा प्रहरीलाई दिनुपर्ने माग उठे पनि विभाग आफैंले निष्कर्षमा पुर्‍याउने दाबी गरिरहेका बेला सम्बन्धित निकायका अधिकारी बोलाएर प्रधानमन्त्रीले ब्रिफिङ लिएका थिए । यो प्रकरणमा विमानस्थल भन्सारका तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।

साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुगेको छैन । हाल भइरहेको अनुसन्धानले अपराधमा संलग्नको नेटवर्क पत्ता लगाए पनि मूल गिरोह अझै अनुसन्धानको दायराभन्दा बाहिर छ ।

भन्सार जाँचपास गरिएका शंकास्पद सामान खोलेर हेर्दा ब्रेक सुभित्र लुकाइएको सुनसहित २ जना पक्राउ परेका थिए । त्यसपछि अघि बढेको अनुसन्धानका क्रममा तस्करीबाट त्यसअगावै त्योभन्दा धरै परिमाणमा सुन भित्रिएर गिरोहले व्यवस्थापन गरिसकेको पाइएको थियो । त्यही क्रममा अनुसन्धानमा तानिएका व्यापारी राकेशकुमार अडुकिया फरार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ