काठमाडौं साउन १८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा महिलाका लागि मात्रै बस सेवा सञ्चालन गर्न खोजेर भोटका लागि सस्तो राजनीति गरेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा सदस्य बनेको १०० दिन पुगेको अवसरमा बुधबार लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन– २ मा महिलाका लागि निशुल्क बस सेवा सञ्चालनमा ल्याएका छन्। सोही विषयलाई लिएर महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउँछौं भन्नेहरूले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना नदेखिएको जिकिर गरे।
पोखरेलले यो विषयमा गंभीर हुनु पर्ने पनि बताएका छन् ।
महासचिव पोखरेलले चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्न आग्रह समेत गरेका छन्। उनले रास्वपाले महिलाका लागि मात्रै भनेर सार्वजनिक यातायातको सुरूवात गरेको सुन्दा हामी कता जाँदैछौं भन्ने प्रश्न उठेको बताएका छन्।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, दुनियाका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवाद बाहेक महिलाहरू सुरुदेखिनै तुलनात्मक हिसाबले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरूको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशीएका बेला ठूलो संख्यमा महिलाहरू परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् । यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ?