साउन १७ , काठमाडौँ । तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्।
यो प्रकरणमा अधिवक्ता पाण्डेविरुद्ध साउन १२ गते नै जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो। तामाङ र मगर समुदायप्रति विवादित टिप्पणी गरेपछि उनीविरुद्ध ती समुदायका सदस्यहरुले प्रहरीमा उजुरी गरेका थिए।
उनले टेलिभिजनमा अन्तर्वार्ता दिँदै उक्त समुदायमा दाजुबहिनीबीच नै विवाह हुने भन्दै गलत टिप्पणी गरेपछि आन्दोलन सुरु भएको थियो। बुधबार प्रदर्शनमा उत्रिएका तामाङ समुदाय र प्रहरीबीच जिल्ला प्रहरी परिसर काठमाडौंमा झडप भएको छ। उक्त झडपका क्रममा प्रहरीले ३५ जनाभन्दा बढी प्रदर्शनकारीलाई पनि पक्राउ गरिएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले बताए।