प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले जेहाद छेडिसकेको बताएका छन्। समाजवादी विद्यार्थी मञ्च घोषणा कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधनका क्रममा उनले भने ‘जसरी अहिले भ्रष्टाचारविरोधी र बेथितिविरुद्ध सरकारले अभियान चलाएको छ।
राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ। तस्करीविरुद्ध जेहाद छेडिएको छ’, उनले भने, ‘यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ, यो कदम समृद्धिका लागि यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।’
प्रधानमन्त्रीले अब बिस्तारै अरु फाईल पनि खुल्दै जाने र त्यस बेला जनताको ठूलो समर्थन चाहिने पनि बताएका छन् ।
यो लँडाई प्रधानमन्त्री र सरकार एक्लैले लड्न र जीत्न नसक्ने भएकाले जनताको समर्थन चाहिने उनको भनाई छ । कार्यक्रममा माधव नेपाल, उपेन्द्र यादव लगायतका नेता पनि सहभागी छन् ।