१० साउन, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै माफी माग्न आग्रह गरेका छन् ।
आफूहरुले समयमा नै चुनाव खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेपनि प्रमुख आयुक्त थपलियाले खर्च विवरण सार्वजनिक नगरेको भन्दै विज्ञप्ति निकालेको भन्दै माफी माग्न आग्रह गरेका हुन् ।
प्रमुख आयुक्त थपलियाले जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै उनले माफी नमागे मानहानीको मुद्दा लगाउने वा महाअभियोग लगाउने चेतावनी दिए ।
‘जनप्रतिनिधिको चरित्र हत्या गर्ने गरी प्लानमा, डिजाइनमा प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभएको छ । जबकी हामीले समयमा नै खर्च विवरण बुझाएका छौं, जिल्ला निर्वाचन कार्यालयमा यसको लेखोट छ र हामीले आफ्नो फेसबुकमार्फत र सामाजिक सञ्जालमार्फत खर्च विवरण सार्वजनिक गरेका छौं ।’
प्रमुख आयुक्तले जानीजानी र कानुनको आफैं ब्याख्या गरेर जनप्रतिनिधिको चरित्र हत्या गरेको यादवले आरोप लगाए । ‘यो खेदजनक छ । त्यसैले म यो सदनमार्फत प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु ।
माफी नमागे प्रमुख निर्वाचन आयुक्तलाई मानहानीको मुद्धा लगाउनु पर्ने चेतावनी दिएका छन् । साथै थपलियालाई महाअभियोग लगाउनु पर्ने माग उनले गरेका छन् ।