१० साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पछिल्लो समय आगामी दुई वर्ष नेपाली कामदार नलाने भन्दै भाईरल बनेको सचना गलत भएको स्पष्ट गरेको छ ।
ईपीएएस कोरिया शाखाको लेटर प्याडमा ‘तत्काल कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै फेक सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि ईपीएस कोरिया शाखाले गलत सूचनाप्रति सचत रहन भन्दै यो सूचना झुटो रहेको स्पष्ट पारेको छ ।
लेटरहेड दुरुपयोग गरी गलत सूचना निकाली अतिरञ्जित गर्ने, भ्रम छर्ने र सरकारी लेटरप्याड कीर्ते लगायत गैरकानुनी काम गरेका व्यक्तिलाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा समेत लेखी पठाइएको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए । ईपीएयस कोरिया शाखाको सामाजिक सञ्जालमा पेज बनाएर त्यसमा लोगो र लेटरप्याड समेत राख्ने गरिएको तर्फ समेत ईपीएसले सचेत गराएको छ ।
नक्कली फेसबुक खोल्ने, त्यसमा भ्रामक विषय लेखी जथाभावी पोष्ट गर्ने र सत्यतथ्य नबुझी सेयर गर्ने प्रवृत्तिप्रति समेत कोरिया शाखाले ध्यानाकर्षण गराएको छ ।
सन् २००८ देखि रोजगारीका लागि यस प्रणालीबाट ९० हजार भन्दा बढी नेपाली नागरिक कोरियामा कामका लागि प्रवेश गरिसकेका छन् ।
ईपीएस कोरिया शाखाका अनुसार दक्षिण कोरियामा कामदार पठाउने १६ मुलुकमध्ये नेपाल उत्कृष्ट देशको सुचीमा पर्ने गरेको छ ।
नेपालमा ठूलो मात्रामा रेमिट्यान्स कोरीयाबाट आउने गरेको छ ।