काठमाडौं साउन ८ । तीन दिने नेपाल भ्रमणमा आएको चीनीया कम्युनिष्ट पार्टीको उच्च स्तरीय प्रतिनिधिमण्डलले आज सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको छ ।
नेपाल भ्रमणमा रहेका चीनको सीपीसीका पोलिटव्युरो सदस्य युयान च्या च्युन नेतृत्वको टोली र घिमिरेबीच काठमाडौंमा सोमबार भेटवार्ता भएको हो।
भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरे। ‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु।’
सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे।
हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै सभामुखको भनाइ छ। उनले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेको बताउँदै जसले नेपालको पर्यटन उद्योगमा टेवा पुर्याएको उल्लेख गरे।
जनगणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एक महिना अघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको सभामुखको भनाइ छ। चीन संसारको आर्थिक शक्ति रहेको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाललाई अन्नको भण्डार बनाउन नमूना कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे।
सीपीसीका नेता च्याच्युनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने जानकारी गराए। उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गरे। नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए।
सोमबार नै एलआरआई स्कूल कलंकीमा भएको कार्यक्रममा सभामुख घिमिरे र नेता च्याचिनले भाषा ल्याबको सुरुवात गरेका थिए।
नेता च्याले आजै काँग्रेस सभापति शेर बहादुर देउवासँग भेटवार्ता गर्नेछन् । यस अघि काठमाण्डौँ ओर्लिए लगत्तै उनको टोलीले राष्ट्रपति, कार्यबाहक प्रधानमन्त्री र परराष्ट्रमन्त्री सँग भेटवार्ता गरेको थियो ।
साथै हिजै साँझ माओवादी पदाधीकारीहरुसँग डिनर सहितको छलफल भएको थियो । च्याले भोली एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानु अघि चीनबाट उच्च स्तरीय प्रतिनिधिमण्डल नेपाल आएको हो ।