साउन ७ काठमाण्डौँ । । नेपाल भ्रमणमा रहेको चीनीया कम्युनिष्ट पार्टीको उच्च स्तरीय प्रतिनिधि मण्डल राजनीतिक भेटवार्तामा सक्रिय रहेको छ ।
आईतबार काठमाण्डौँ आएको च्या चुन नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्ण बहादुर खड्का लगायतकासँग भेटवार्ता गरेको थियो । त्यसपछि च्याले ईटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग भर्चुअल संवाद गरेका थिए ।
संयुक्त राष्ट्रसंघको खाद्य प्रणालीसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली प्रस्थान गरेका छन् ।
च्याले आफ्नो भ्रमणको उद्देश्य २०१९ मा राष्ट्रपति सी जिनपिङ नेपाल आएको बेला भएका सहमतिको कार्यान्वयनलाई सफल बनाउनु रहेको बताएका थिए । उनले आइतबार साँझै माओवादी केन्द्रका नेताहरुसँग पनि डिनरसहित छलफल गरेका छन् ।
च्याले गर्ने उच्चस्तरीय भेटमा दुई देशबीचको सम्बन्धदेखि प्रधानमन्त्रीको चीन भ्रमणबारे समेत कुराकानी हुने एजेण्डा छ ।
प्रधानमन्त्री आगामी भदौमा चीन जाने तयारी भएका बेला उच्च स्तरीय चीनीया प्रतिनिधिमण्डल नेपालमा आएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गएको १८ असारसम्म गरेको पाँच दिने चीन भ्रमणमा प्रचण्डकै भ्रमणबारे कुरा गरेका थिए । त्यसको एक महिना अगाडि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा माओवादीका नेताहरुले चीन भ्रमण गरेका थिए ।